-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपालको पूँजीबजारका चर्चित प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल लामो समयदेखि नेपाल छैनन् ।

उनी बेला मौका नेपाल आउँछन तर केही दिनमा नै भारत फर्किहाल्छन् । उनले बजार चम्केपछि प्राविधिक विश्लेषणको कक्षा पनि सञ्चालनमा ल्याएका थिए । त्यसैगरि बजार चम्कदै जाँदा युट्युबर र टीकटक जस्ता सामाजिक सञ्जालमा पनि राम्रै चहलपहल हुन्थ्यो ।तर अहिले अवस्था त्यस्तो रहेन ।

ब्रोकर हाउसमा पनि खुट्टा हाल्ने ठाँउ नै हुँदैन थियो। चियापसलदेखि सार्वजनिक यातायत र चोक-चोकमा सेयर बजारको चर्चा सुनिन्थ्यो । यतिमात्रै नभएर आजभोलि धेरै लगानीकर्ता अहिले गुमनाम जस्तै छन् ।

उनीहरु सेयर बजारको कुरा नै गर्न चाहँदैनन् ।अझै अनौठो त के छ भने बजारमा दैनिक गिरावट आउन थालेपछि ब्रोकरहरु पनि सेयरबजारबारे चर्चा गर्न मान्दैनन् । नेपालमा ब्रोकरहरुको संख्या ९३ वटा रहेको छ । जसमध्ये धेरैजसो ब्रोकरहरु आजभोलि फुर्सदिला देखिन्छन् । उनीहरुलाई कार्यालय समयमा पनि सामाजिक सञ्जालमा झुम्मिएर बसेको देख्न सकिन्छ ।

बजारको अवस्था बारे बुझ्ने क्रममा राजधानीकै मुटुमा रहेको कोहिनूर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३५ मा पुग्दा त्यहाँको वातावरण मध्य दिनमा नै सुनसान थियो । ब्रोकर हाउस सुनसान थियो भने सञ्चालक तथा कर्मचारीहरु गित सुन्दै मनोरञ्जन लिएर बसिरहेका थिए ।

यसैगरी, एकसमयमा कारोबार र लगानीकर्ताको संख्याको हिसावले धेरै चर्चा बटुलेको ब्रोकर नासा सेक्युरिटिजको पनि अवस्था त्यस्तै थियो । त्यसो त क्लब हाउसको पनि अवस्था त्यस्तै देखिन्छ । बजार चम्कँदा तीन /चार वटा क्लब हाउस चल्ने गरेको भएता पनि अहिले मुस्किलले एउटा मात्रै चल्ने गरेको पाइन्छ । सँधै क्लब हाउसमा आउने लगानीकर्ता नीर पाण्डे, मुक्ति अर्यालजस्ता लगानीकर्ताहरु पनि आजभोलि सुनिदैनन् ।

कुनै बेला क्लब हाउसमा ५ हजारसम्म हुने स्रोताहरु अहिले मुस्किलले ५०० पनि हुँदैनन् । बजारको उल्टो गति देखेर यल दरबार नामक क्लब हाउसका सञ्चालक राजु पौडेल सामाजिक सञ्जालबाट पनि अब ओझेल पर्दै जाने बताउँछन् । 

उनले भने, ‘बजार जस्तो म पनि उस्तै । अहिले आएर मैले ‘देखेर र देखाएर केही नहुने बुझिसकें । अब चुपचाप कमाउने हो । सफलताले आँफै हल्ला गर्छ।’