काठमाण्डौ । सुन्धारा सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ५२) ले निक्षेप सदस्य सेवा सुचारु गरेको छ ।

यो ब्रोकर कार्यालयले धितोपत्रसम्बन्धी ऐन २०६३ र सोअन्तर्गत बनेको नियम, विनियम तथा प्रचलित कानुन र धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ (पहिलो संशोधन, २०६९ सहित) अन्तर्गत रही यो सेवा सुचारु गरेको हो ।

यसअन्तर्गत कम्पनीले आफ्ना सेवाग्राहीलाई सेवा तथा सुविधाका लागि निक्षेप सदस्यका रुपमा इजाजत लिई प्राकृति व्यक्ति, संघसंस्था तथा कम्पनीको हितग्राही खाता खोल्ने, भौतिक रुपमा रहेका धितोपत्रहरुलाई अभौतिकीकरण गर्ने साथै यससँग सम्बन्धित कार्यहरु सुचारु गरेको छ ।

नेपालमा डीपी सेवा प्रदान गर्ने कान्छो ब्रोकर कम्पनीका रुपमा रहेको यो कम्पनीले धितोपत्रसम्बन्धी कारोबारलाई विकास, विस्तार र सुदृढ गर्न समयसमयमा नियामक निकायले जारी गर्ने नीति तथा निर्देशनको कार्यान्वयन गर्दै आफ्ना लगानीकर्ताहरुलाई सेवाप्रवाह गर्नु नै मुख्य उद्देश्य रहेको जनाएको छ । 

यसैबीच कम्पनी सुरुआत गरेको १२ वर्ष पुगेको अवसरमा सुन्धारा सेक्युरिटिसले यो पुस महिनाभरि सेवाग्राहीका लागि निःशुल्क डिम्याट खाता खोल्ने व्यवस्था गरेको छ ।