काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ ।

यसअघि केन्द्रीय बैंकले दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो । अव २० किलोसम्म सुन ल्याउन दिइने छ । अहिले वाणिज्य बैंकले सुन आयात गररिहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बुधबार जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो।

सुन कारोबारमा संलग्न व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निणर्यसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको हो ।

नजिकिंदै गरेको दसैंतिहारमा सुनको माग बढ्ने भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गर्दै आएका थिए।

सामान्य अवस्थामा गत वर्षसम्म दसैँ-तिहारमा दैनिक ४० किलोसम्म सुनको माग हुने गरेको छ ।सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।

उनका अनुसार १० केजीको सीमा निकै न्युन थियो तर अहिले बजारमा माग पनि त्यति छैन । अहिले विदेशी विनिमय सञ्चिति पर्याप्त रहेका कारण सुनको सीमा बढाइएको हो।