काठमाण्डौ । पहेँलो धातुु सुुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटिरहँदा त्यसको प्रभाव घरेलु मार्केटमा परेको हो । यही प्रभावका कारण विवाहको मुख्य सिजनमा सुनको मूल्य ११ महिनाकै सस्तो भएको छ । आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोलामा ४ सय रुपैयाँले घटी ५२ हजार ६ सयको विन्दूमा झरेको हो । 

शुक्रबार सुन प्रति तोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बिहीबार सुनको मूल्य प्रति तोला ५३ हजार ४ सय कायम भएको थियो । अघिल्लो आइतबार भने सुनको मूल्य तोलाको ५४ हजार थियो । अघिल्लो आइतबारको तुलनामा सुनको मूल्य प्रति तोलामा १ हजार ४ सयले कम भएको हो । 

यसअघि २०७२ माघ २२ गते सुनको भाउ ५२ हजार ५ सयको विन्दूमा थियो । त्यसपछि कुनै पनि दिन सुनको भाउ ५३ हजार तल झरेको थिएन । 

विश्लेषकहरुले अन्तर्राष्ट्रिय बजारमा सुनको माग भन्दा आपूर्ति धेरै भएका कारण र मानिसहरुले आफूसँग भएको सुन बिक्री गरी डलरमा लगानी गर्न थालेका कारण भाउ घटिरहेको र यो क्रम अझै केही हप्तासम्म जारी रहने भन्दै नेपाली बजारमा प्रति तोला ५० हजार भन्दा तल झर्नसक्ने प्रक्षेपण गर्न थालेका छन् । 

यसकारण घट्दैछ सुनको भाउ
ग्लोबल मार्केटमा सुनको कारोबारमा मन्दी आएको छ । मिडिया रिपोर्टहरुका अनुसार पहिलाको भन्दा माग ९० प्रतिशत कम भइसकेको छ । यसले समेत सुनको मूल्य लगातार घटाउन उर्जा दिइरहेको छ । विश्लेषकहरुले त अझै ३ देखि ४ महिनासम्म सुनको मूल्य बढ्ने संभावना नदेखिने दाबी गरिरहेका छन् । 

ग्लोबल मार्केटमा सुनको मूल्यमा अझै २० प्रतिशतसम्म गिरावट आउने आँकलन पनि गर्न थालिएको छ । यदि यस्तो भयो भने यसको असर नेपाली बजारमा समेत पर्ने निश्चित छ । यही कारण नेपाली बजारमा समेत सुनको भाउ प्रति तोला ५० हजार तल झर्नसक्ने संभावना बढेको छ ।  

अमेरिकामा बैंकहरुको ब्याजदर बढ्ने निकै ठूलो संभावना छ । यसले सुनको मूल्यमा आगामी दिनमा अझै ठूलो गिरावट ल्याउनसक्ने विश्लेषकहरुको भनाई छ । १४ डिसेम्बरमा अमेरिकाको केन्द्रीय बैंकको निकै बहुप्रतिक्षित बैठक हुँदैछ, त्यो बैठकले ब्याजदर बढाएमा सुनको मूल्यमा अझ ठूूलो पहिरो जानेछ । तर यदि त्यो बैठकले ब्याजदर घटाउने निर्णय गर्यो भने चाहि सुनको मूल्यमा केही राहात हुनसक्छ । मिडिया रिपोर्टका अनुसार ब्याजदर बढाउनसक्ने संभावना धेरै छ । 

नेपालमा भने सुन अभाव !
मंसिर महिना लगनको महिना हो । यो समय नेपाली बजारमा सुनको अत्यधिक माग छ । तर सुन व्यवसायीहरुले मूल्य घटेका कारण भएको सुन लुकाउँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । ५९ हजार मूल्य हुँदा खरीद गरेको सुन ५२ हजारको हाराहारीमा आउँदा व्यवसायीले प्रति तोलामा ७ हजार गुमाइसकेका छन् । आगामी दिनमा अझ मूल्य घट्ने र सो अवधिसम्म सुन लुकाउने उनीहरुको तयारी बुुझ्न सकिन्छ । त्यसपछि भने सुनको मूल्यमा केही रिकभरि हुने र सोही बेला लुुकाएको सुन बिक्री गर्ने उनीहरुको दाउ रहेको स्रोत बताउँछ । 

अहिले सर्वसाधारण विवाहको समयमा चाहिने गरगहनाका लागि सुन पसलमा जाँदा सुन नभएको जवाफ पाउने गरेका छन् । व्यवसायीले मूल्य घटेकै कारण जानी जानी लुकाएको सुनका कारण सर्वसाधारणमा मर्का परेको भन्दै सरकारले यस्ता कालोबजारी रोक्नुपर्ने माग उठ्न थालेको छ ।