काठमाण्डौ । अमेरिका र उत्तरकोरियाबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा लगातार भाउ बढिरहँदा त्यसको प्रभावले नेपालको आन्तरिक बजारमा समेत सुनको भाउ बुम भएको छ । 

एकैदिन प्रति तोलामा ६ सय रुपैयाँले वृद्धि भई शुक्रबार फाइन गोल्डको मूल्य प्रतितोला ५७ हजार ८ सय पुुगेको हो । बुधबारसम्म प्रति तोला ५७ हजार ५ सयमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार घटेर ५७ हजार २ सयमा झरेको थियो । तर, शुक्रबार एकैदिन बुम भई ५७ हजार ८ सयको उचाईमा पुुगेको हो । 

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । मंगलबार र बुधबार प्रति तोला ७९० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार केही घटेर ७८५ रुपैयाँमा झरे पनि शुक्रबार एकैदिन प्रति तोलामा १० रुपैयाँले वृद्धि भई ७९५ रुपैयाँको उचाई चुमेको हो । 

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंसमा एकैदिन ८.५० डलरले बढ्न पुुग्यो । विगत ३० दिनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा करिब ५ प्रतिशतको बढोत्तरी भइसकेको छ । 

सुन सञ्चित गर्ने मालामाल
सुनमा पछिल्लो समय लगानी गर्नेहरु मालामाल बनिरहेका छन् । भदौमा मात्र सुन प्रति तोलामा २३०० रुपैयाँले बृद्धि भइसकेको छ । भदौ १ गते सुन प्रति तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ५७ हजार ८ सय कायम भएको छ । यो हिसाबले भदौ महिनाको २२ दिनको अवधिमा सुनमा लगानी गर्नेहरुले साढे ४ प्रतिशतको हाराहारीमा कमाइसकेका छन् । 

गत एकहप्ताको अवधिमा सुनको भाउ प्रति तोलामा १८०० बढिसकेको छ । यो हिसाबले एकहप्तामै सुनमा लगानी गर्नेहरुले साढे ३ प्रतिशतले नाफा बुुक गरेका छन् । 

किन बढ्दैछ भाउ ?
उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावका कारण अन्तर्रा्ष्ट्रिय क्षेत्रको लगानीको वातावरण बिग्रिएको छ । यहीकारण सुरक्षित लगानीका लागि सेयरबजार, डलरबाट लगानी झिकेर अधिकांश कारोबारीले सुनमा लगानी बढाएका छन् । माग उच्च भई अन्तराष्ट्रिय बजारमै मूल्य समेत बढिरहेको छ । अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस १३५० डलर पुुग्ने प्रक्षेपण गरिएको थियो । तर, प्रक्षेपित बिन्दू समेत पार गरेपछि सुन कति माथिसम्म जानसक्छ भन्ने बिषयमा विश्लेषण हुन थालेको छ । कतिपयले सुन प्रति औंस १४०० डलरसम्म पुुग्नसक्ने दाबी गर्न थालेका छन् । 

अन्तराष्ट्रिय बजारमै सुनको भाउ हरेक दिनजसो बढिरहँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । कोरिया र अमेरिकाबीचको तनाव तत्काल शान्त नहुने अवस्था देखिएका कारण आगामी दिनमा सुनको भाउ अझै माथि पुुग्नसक्ने प्रक्षेपण गरिएको छ । अन्तराष्ट्रिय बजारमा यसैगरी भाउ बढिरहने हो भने केही दिनभित्रै नेपाली बजारमा सुनको भाउ प्रति तोला ६० हजार पुुग्नसक्ने विज्ञहरुले दाबी गरेका छन् । सुनको दैनिकजसोको तीव्र बढोत्तरीले भाउ ६० हजारको उचाईमा पुुग्न सक्ने संभावना बढ्दै गएको छ ।