काठमाण्डौ । भोलि(शनिवार)देखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ । 

नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा पनि बिक्री कक्ष राखिने भएको हो । 

भोलिदेखि सुरु हुने बिक्री कक्ष छठ पर्व (कात्तिक २१ गते)सम्म सञ्चालन हुने छ । 

ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६०० क्विन्टल, गहुँ ५०० क्विन्टल, सिमी २०० क्विन्टल र फापर २०० क्विन्टल बिक्रीका लागि राखिने र प्रत्येक सामानमा प्रतिकेजी रु पाँच छुट दिइने प्रवक्ता कार्कीले बताए ।