काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको आईपीओ भर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत मंसिर २१ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ स्थानीय आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासित आईपीओ भने गत पुस ६ गतेबाट बन्द गरिएको थियो। 

कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ। 

यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।