काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ आज फागुन ५ गते बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। 

यो कम्पनीले गत माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता बिक्री गरिएको थियो। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सानिमा क्यापिटलका अनुसार १३ लाख २२ हजार ४९२ आवेदकबाट कुल १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयर माग भएको छ। जसमा १३ लाख १८ हजार ३२० आवेदकबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ता सेयर सदर भएको छ। जसमा ४ हजार १७२ आवेदकबाट परेको ५४ हजार ९५० कित्ता सेयर बदर भएको छ। 

मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार ४१ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये १२ लाख ७६ हजार ८२० आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइटमा तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।