काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन माघ १२ गतेसम्म झन्डै ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको छ। त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज अपराह्न ४ बजेसम्म यो आईपीओमा १३ लाख ५७ हजार ७४५ आवेदकबाट १ करोड ५५ लाख ६२ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्। यो मागभन्दा ८.९३ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट गरिनेछ। जसमा भाग्मानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिएका छन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले रहेको छ।