काठमाण्डौ । सरस्वती पूजाका दिन आज काठमाण्डौको ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)ले आफ्नो नयाँ भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ। 

आज देशभरका विद्यालय तथा शक्तिपीठहरुमा देवी सरस्वतीको पूजा भइरहँदा सुमेरु सेक्युरिटिजको नयाँ भवनको उद्घाटन गरिएको हो। नयाँ भवनको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरे। 

कार्यक्रममा सुमेरु सेक्युरिटिजले अब हरेक साता शुक्रबार लगानीकर्तालाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवालले ब्रोकरहरुले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत इन्ट्रन्यासनल एकेडेमी फर फाइनान्सियल एकेडेमीसँग सहकार्य गरेर लगानीकर्तालाई निःशुल्क सेयर तालिम दिने बताए। ‘यस्तो कार्यक्रम यही शुक्रबारबाट सुरु हुनेछ’, उनले भने। 

कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, पूर्वअध्यक्ष अम्बिका पौडेल, ग्लोबल आइएमई क्यापिटका सीईओ पारसमणि ढकाल, लगानीकर्ताहरु ताराप्रसाद फुल्लेल, मुक्ति अर्यालय, रोहन कार्कीलगायतको उपस्थिति थियो।