काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सुरक्षित लगानीका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)को साथमा सरकार रहेको बताएका छन्।
सिंहदरबारमा शुक्रबार एनआरएनएका पदाधिकारीसँग भेटमा अर्थमन्त्री महतले यस्तो आश्वासन दिएका हुन्।
भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्र बुझाउँदै आफ्ना समस्या अर्थमन्त्री महतसमक्ष राखेका थिए। उनीहरुले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राखेका थिए।
‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’, भेटमा मन्त्री महतले भने, ‘सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन। लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन।’
लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत सम्बोधन गरिने आश्वासन महतले दिए। आगामी बजेटमार्फत पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यवहारिक कठिनाइ भएको बताए।
भेटमा आजदेखि एनआरएनए अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री महतलाई सुनाएका थिए। ज्ञापनपत्र वाचनपछि तीनैजना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्त रुपमा मन्त्री महतलाई बुझाएका थिए।
भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago