काठमाण्डौ । मेलम्ची खानेपानीको तीनमध्ये एक भागको सुरुङ खन्ने काम सकिएपछि काठमाडौँ–मेलम्ची सुरुङले जोडिएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङ निर्माण सकिएको हो ।

सो सुुरुङको लम्बाइ १० दशमलव पाँच किमि छ । मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले पहिलो खण्डको औपचारिक समापनको घोषणा बुधबार हुने बताए । उनले भने, ‘सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङले ‘ब्रेक थु्र’ हुने मौका पाएको छ । आयोजनाका लागि यो ठूलो सफलता हो ।’

मेलम्ची खानेपानी उपत्यका ल्याउन २७ दशमलव ५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । आयोजनाले सुरुङ तीन भागमा विभाजन गरी खन्दै आएको छ । त्यसमध्ये एक भाग खनेर सकिएको हो । सिन्धुदेखि ग्याल्थुमसम्मको सात दशमलव ७०३ किमि सुरुङमध्ये अब दुई दशमलव पाँच किमि मात्रै खन्न बाँकी छ । त्यस्तै, ग्याल्थुमदेखि अम्बाथानसम्मको पाँच दशमलव १२३ किमि सुरुङमध्ये अब दुई दशमलव ५० किमि सुरुङ खन्न बाँकी छ । 

सुरुङ खन्ने गति घट्यो
आयोजनाका निर्देशक भट्टराईले बाँकी भागको काम दु्रत गतिमा अघि बढेकाले केही महिनामा नै सकिने बताए । तर, सुरुङ खन्ने गति भने विगतको तुलनामा घटेको उनको भनाइ छ । विगतमा प्रतिदिन ३० मिटरका दरले सुरु खन्ने काम हुँदै आएको थियो । तर, अहिले प्रतिदिन १९ मिटर मात्रै सुरु खन्न सकिएको छ ।

निर्देशक भट्टराईले भने, ‘ठेकेदार कम्पनीले एकतिरबाट मात्रै सुरुङ खनेकाले गति घटेको हो । कतिपय अवस्थामा मेसिन पनि पुराना भए । काम हुन सकेन । अर्को, प्राविधिक समस्याका कारण पनि यस्तो भएको हो ।’

खनिसक्न भदौसम्म लाग्न सक्छ
आयोजनाले सुरुङ खन्ने सम्पूर्ण काम आगामी जेठसम्म सक्ने जनाएको छ । यसका लागि ठेकेदार कम्पनीले प्रतिदिन ३१ मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ । तर, ठेकेदार कम्पनीले अहिले प्रतिदिन १९ मिटरका दरले मात्रै सुरुङ खन्दै आएको खबर आजको नयाँपत्रिका दैनिकमा छ।

यही दरले सुरुङ खनिए बाँकी रहेको सुरुङ खन्न भदौसम्म लाग्न सक्छ । आयोजनाका अनुसार खानेपानीका लागि अझै पाँच दशमलव ६०८ किमि सुरुङ खन्न बाँकी छ । २७ दशमलव ५८४ किमि सुरुङमध्ये २१ दशमलव ९७६ किमि सुरुङ खनिसकिएको छ । मेलम्ची खानेपानीको सुरुङ खन्ने काम करिब ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।