काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारी तथा फलफूलको मूल्य निर्धारण गरी सार्वजनिक गर्नेछ। 

समितिले आज भदौ ५ गते पनि विभिन्न प्रकारका तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। तर, आजको मूल्यसूचीमा सुकेको प्याज (भारतीय)लाई समावेश गरिएको छैन। 

समितिले सुकेको प्याज (भारतीय)को मूल्यसूचीमा नराख्नु वा मूल्य नतोक्नुले बजारमा कालोबजारी सुरु भएको बुझ्न सकिन्छ। किनकि सम्बन्धित निकायले नै मूल्य नतोक्नेले बजारमा व्यापारहरुले आफूखुसी मूल्य निर्धारण गर्न छुट पाएको प्रस्ट हुन्छ। 

भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको छ। भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ सम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ। 

नेपाली बजारमा खपत हुनेमध्ये ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ। हिजो एकैदिन सुकेको प्याज (भारतीय)को थोक मूल्य २८ प्रतिशतले बढेर प्रतिकिलो औसत ७८ रुपैयाँ पुगेको थियो। गत आइतबार भने औसत मूल्य ६१ रुपैयाँ थियो। 

आज प्याजको मूल्य नतोकिनुले बजारमा कालोबजारी गर्नेलाई प्रश्रय मिलेको छ। 

समितिका एक कर्मचारीले भारतबाट प्याज नभित्रिएकोले आज मूल्य नतोकिएको हुन सक्ने बताए। ‘उताबाटै प्याज आएको छैन’, ती कर्मचारीले भने, ‘कालीमाटी बजारमा थोरै मौज्दात होला। आज मूल्य नतोकिए पनि प्रतिकेजी ८५ रुपैयाँसम्म थोक मूल्य पर्न सक्छ।’ 

सुकेको प्याजको सोमबारसम्म प्रतिकेजी खुद्रा मूल्य १०० रुपैयाँको हाराहारीमा रहेको थियो। अब सम्बन्धित समितिले मूल्य नतोक्दा व्यापारले मूल्य झनै बढाउने सम्भावना देखिन्छ। 

प्याजको मूल्य नियन्त्रण गर्न सरकारले बेलैमा पहल गर्नुपर्ने उपभोक्ताहरुको माग छ। ‘भारतले आफ्नो बजारमा वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गर्न निर्यात रोक्ने गर्छ’, उपभोक्ता मीना बर्तौलाले भनिन्, ‘नेपालमा पनि सरकारले बेलैमा उचित कदम चालेर प्याज, चामलजस्ता वस्तुको भाउ नियन्त्रण गर्नुपर्छ।’