काठमाण्डौ । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ–२०२३ सुरु भएको छ। 

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाण्डौमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरु भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ–२०२३ मा विशिष्ट अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थिति रहेको छ। 

यस्तै अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्व न्त्री गणेश शाह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत नेपाल सरकारका उच्च अधिकरी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्वलगायतको उपस्थिति रहेको छ। 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रुपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयासस्वरुप दुईदिने कन्क्लेभ आयोजना गरिरहेको बताए। 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री दाहालले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए। सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए।

सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्री दाहालले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए। 

कार्यक्रमको फायरसाइड पावर संवादमा सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन्। ‘सुरुमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रुपमा लिइन्थ्यो’, उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

सबै नागरिकमाझ सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले काम गरिरहेको र यस क्षेत्रको विकासका लागि आवश्यक नीति बनाउने तथा परिमार्जन गर्ने काम मन्त्रालयले गरिरहेको शर्माको दाबी छ। 

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधिको तीव्र विकासँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण भएको र त्यसबाट नेपालसमेत अछुतो नरहेको बताए। 

कार्यक्रममा ह्वावे दक्षिण एशिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताए। 

कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञहरुसहित ७० बढी स्रोतव्यक्तिहरु रहेका छन् भने विभिन्न ६ विषयवस्तुमा १५ बढी सत्र सञ्चालन हुनेछन्। कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहेको छ। 

उद्घाटनसत्रमा डिजिटल क्यापाबिलिटजका बारे वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई, ह्वावे एसिया प्यासिफिक क्षेत्रका सिनियर इन्डस्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलका बारेमा सञ्चार सचिव कृष्णबहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए। 

उद्घाटनसत्रको समापनपछि प्यानल सेसन सुरु हुनेछ। पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्ससम्बन्धी सत्रहरु सञ्चालन हुनेछन्। 

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित भइरहेको कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गरिरहेको छ। मोबाइल नेपाल कंग्रेसमा सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्।

ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभमा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्टलगायतको सहकार्य रहेको छ।