काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा थप सुस्ताएको छ । अघिल्लो साता दैनिकजसो करेक्सनमा कुदिरहेको बजारमा आइतबार पनि ६.२४ अंकको करेक्सन भयो । करेक्सन सामान्य अंकमा भए पनि कारोबार रकममा भने सानोतिनो पहिरो नै गएको छ । 

गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा आइतबार ३३ करोड कम कारोबार भएको हो । 

अरुबेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएका वाणिज्य बैंक, बिमा समूह तल झर्दा नेप्से परिसूचक १८१६.८१ अंकमा आइपुगेको हो । 

वाणिज्य बैंक ११.४ अंकले घट्यो भने बिमा समूह २२.०४ अंकले तल झर्यो । होटल समूहमा ३७.६५ अंकको गिरावट देखियो भने बित्त समूह १.७ अंकले घट्यो । 

जलविद्युत समूहमा भने ३०.४४ अंकको वृद्धि देखियो । अन्य समूह ३.१९ अंकले बढ्दा विकास बैंक समूहमा ०.९१ अंकको झिनो बढोत्तरी भयो । 

आइतबार १ सय ४५ कम्पनीका कुल ४६ लाख ५४ हजार ४ सय ७५ कित्ता सेयर १ अर्ब १७ करोड ७५ लाखमा किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार सबैभन्दा बढी नेपाल बंगलादेश बैंकले ६ करोडको कारोबार गर्यो । चिलिमे हाइडोपावर कम्पनीले ५ करोड २६ लाख, एभरेष्ट बैंकले ४ करोड ४५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड २४ लाख, सनराइज बैंकले ४ करोड १९ लाखको कारोबार गरे । 

यसैगरी, मुक्तिनाथ विकास बैंक ३ करोड ४६ लाख, एनआइसी एशिया बैंकको ३ करोड ४४ लाख, हिमालयन जनरल इन्स्योरेन्सको ३ करोड ३७ लाख, प्रभू इन्स्योरेन्सको ३ करोड २६ लाख र कृषि विकास बैंकको ३ करोडको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार सबैभन्दा धेरै लक्ष्मी लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि ८.६६ प्रतिशतले वृद्धि भएको छ । मितेरी डेभलपमेन्ट बैंक, नबील ब्यालेन्स फण्ड लगायतका कम्पनीको सेयर मूल्य समेत ५ प्रतिशतको हाराहारीमा बढेको छ । आइतबार धेरै कमाउने कम्पनीमध्ये अधिकांश सेयर तथा नगद लाभांश घोषणा गरेका कम्पनी हुन् । 

आइतबार सबैभन्दा बढी सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमका लगानीकर्ताले गुमाउनुपरेको छ । यो कम्पनीको इकाई मूल्य करिब १० प्रतिशतले घटेको छ । शिखर इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य समेत करिब ८ प्रतिशतले तल झरेको छ ।