काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार खुलेदेखि नै तीव्र मोलमोलाई देखिएको छ । 

बेच्नेहरु सस्तोमा सेयर फाल्न खोजिरहेका छैनन् भने किन्नेहरुले सस्तोमै उठाउन खोजिरहेका छन् । किनबेच गर्नेको यो बार्गेनिङ र अधिकांश लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका कारण बजार सुस्ताएको छ । 

कारोबारको पहिलो २ घण्टासम्ममा बजार न धेरै घटेको छ, न धेरै बढेको छ। 

कम्पनीका मूल्यहरुमा समेत तीव्र मोलमोलाई चलिरहेको छ । बिक्री गर्न चाहनेले घटेर बिक्री नगर्ने र किन्नेले पनि बढी मूल्य राखेर नकिन्ने अडानका कारण दुई घण्टामा समेत कारोबार रकम ८० करोड मात्रै पुगेको छ । कारोबार रकम यसरी ह्वात्तै घट्नुले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भन्ने देखाउँछ । यो समाचार तयार पार्दासम्म बजार ८ अंकले बढेको छ । केही समयअघि लगभग त्यति नै अंकले घटेको थियो । 

लगानीकर्ताहरु पछिल्लो समय एमसीसीका कारण पेचिलो बन्दै गएको राजनीतिलाई बढी नियालिरहेका देखिएको छ । अधिकांश लगानीकर्ता एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने र बजारका लागि अशुभ सावित माओवादीको भागमा परेका मन्त्रीको समेत बहिर्गमन भई बजारमा केही सकारात्मक प्रभावहरु देखिने आशामा बसेका देखिएको छ । 

कतिपय भने राजनीतिक अन्यौलताको प्रभाव समेत बजारमा पर्ने भएकोले पर्ख र हेरको रणनीतिमै बस्नु ठीक ठानेका छन् । राजनीतिक परिस्थितिमा नसोचेको परिवर्तन आउने संभावना समेत रहेकोले त्यसको प्रभावले बजारमा समेत नसोचेको परिवर्तनहरु आउनसक्ने आशामा सस्तोमै सेयर बिक्री गर्न नचाहनेको जमात ठूलो देखिएको छ। 

अर्कोतर्फ केही लगानीकर्ता भने नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत कुनै नयाँ व्यवस्था गर्ला कि भन्ने मनोविज्ञानमा बसिरहेका छन् । बजारका लागि सुखद प्रभाव पार्ने कुनै परिवर्तनहरु मध्यावधि समीक्षामार्फत आए बजार बुम हुने कतिपयमा आशा देखिन्छ । 

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला अहिलेको राजनीतिक अवस्थाले गर्दा लगानीकर्ताहरूलाई लगानीको निर्णय गर्न गाह्रो भएको बताउँछन्। बास्तोला भन्छन्, -'आज पनि खासै कारोबार हुन् सकेको छैन। लगानीकर्ताहरूमा अहिलेको देउवा सरकार रहला कि नरहला भन्ने अन्यौलता देखिन्छ।'

त्यस्तै लगानीकर्ताहरू एमसीसी पास होला कि नहोलारु भनेर बसेको देखिन्छ। 'सडकमा एमसीसीको विरुद्धमा रहेका नागरिकहरूको गतिविधि हेर्दा एमसीसी पास भएमा बन्द हडताल हुनुका साथै संसद् विघटन र सरकार नै ढल्न सक्ने सम्मको अवस्था सृजना हुने देखिन्छु बास्तोला भन्छन्,-'लगानी गरेको भोलिपल्ट नै सरकार ढल्यो र समयमा चुनाव हुन नसकेको अवस्था सृजना हुन्छ कि भन्ने अन्यौलता पनि लगानीकर्ताहरूमा छ। त्यसैले पनि बजार केही दिनदेखि सुस्ताएको छ।'

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी नेपालमा लगानीकर्ताहरूको राजनीतिसँग पुँजी बजार जोड्ने बानी भएको बताउँछिन्। तिवारी भन्छिन्,-'अहिलेको राजनीतिक अवस्थाले गर्दा लगानीकर्ताहरू पर्खा र हेरको अवस्थामा छन्। धेरैजसो लगानीकर्ताहरूको चासोको विषय भनेको एमसीसी र सरकारको भविष्य के होला भन्ने रहेको छ।'

'हाम्रो पुँजी बजार ट्रेडरहरू हाबी भएको बजार हो। हिजो र आजको कारोबार हेर्दा अहिलेको मूल्यमा किन्ने र बेच्ने दुवै तयार नभएको देखिन्छ।' अहिले तरलता सङ्कटका साथै ब्याजदर पनि बढेकाले कारोबार सुस्त भएको देखिने उनको भनाई छ । 

'मौद्रिक नीतिको समीक्षा यही साता आउने हल्ला छु' तिवारी भन्छिन्-'त्यसका साथै राजनीतिक माहौल सहज भएमा बजारले एउटा दिशा लिने देखिन्छ। बजार घट्ने त्यति ठाउँ नभएकाले बढ्ने नै सम्भावना बढी भएको देखिन्छ।'