काठमाण्डौ । तिहारपछि खुलेको बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर कारोबार रकमसमेत पौने ५ अर्ब रुपैयाँ नाघेको छ ।

पछिल्ला समयमा सेयर बजारका लागि चौतर्फी माहौल सकारात्मक रहेको र नेप्से निकट समयमा अलटाइम हाईमा पुग्ने लगानीकर्ताको उच्च मनोबलका कारण बजार निरन्तर बढेको जानकार बताउँछन् । लगानीकर्तामा बुलिस ट्रेण्ड सुरु भइसकेको मनोविज्ञानले समेत अहिले काम गरिरहेको उनीहरु बताउँछन् । 

कारोबार रकम र परिसूचकको समानान्तर वृद्धिले समेत टेवा दिइरहेकाले बजार निकट समयमा नै १८०० विन्दू पार गर्ने विश्लेषकहरुको दाबी छ । नेप्सेको अहिलेसम्मको अलटाइम हाई विन्दू १८८१ हो। 

तिहारपछि खुलेको आज पहिलो दिन नै बजारमा सेयरको आपूर्तिभन्दा माग उच्च रहेको ब्रोकरहरु जिकिर गर्छन् । बैंकका सेयरमा आकर्षण रहे तापनि बढ्दो बजार भएकाले सेयरको कम आपूर्ति भएको सेक्टरमा खरिद चाप बढेको उनीहरु दाबी गर्छन् । 

बुलिस ट्रेण्डमा कुदिरहेको बजार परिसूचक (नेप्से) बुधबार २३.३२ अंकले बढेर १७४१.८१ को विन्दूमा पुगेको हो । 

यो दिन बजारका उपसमूहरुको प्रदर्शन मिश्रित देखिएको छ । हाइड्रोपावर समूहमा १८.६१ अंकको पहिरो गएको छ भने विकास बैंक समूहमा २०.६ र बैंकिङ समूहमा १.२८ अंकको गिरावट आएको छ । बाँकी सबै समूहका उपसूचकमा उछालको अवस्था देखिएको छ।

यो दिन व्यापार समूहको उपसूचकमा १० प्रतिशत(१८१.०८ अंक) हाराहारीको बढोत्तरी भयो । 

उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७ प्रतिशत(२३५.४५ अंक) हाराहारीमा बढ्यो भने जीवनबिमा समूह ५.१(५२१.३७ अंक), निर्जीवन बिमा समूह ४.५१(३९७.४८ अंक) प्रतिशतको बढोत्तरीसँगै बजारमा चम्किए । 

यो दिन होटल समूहको उपसूचक २.०९(३९.६ अंक) प्रतिशतले बढ्यो भने बित्त समूहमा ८.४३ अंक, माइक्रोफाइनान्स समूहमा १४.६ अंक, अन्य समूहमा २९.९७ अंक र म्युचुअल फण्ड समूहमा ०.१६ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भयो । 
सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीले ३३ करोड ६२ लाख बढीको कारोबार गर्यो । 

नेपाल टेलिकमले ३० करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन  नेपाल लाइफ इन्स्योरेन्सले २५ करोड  ९४ लाख, शिवम सिमेन्टले २२ करोड ७९ लाख, एनआइसी एशियाले १८ करोड २२ लाख, प्रभू बैंकले १६ करोड ५९ लाख, शिखर इन्स्योरेन्सले १६ करोड २६ लाख, नेको इन्स्योरेन्सले ११ करोड ४२ लाख, नागरिक लगानीकोषले १० करोड २८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारका ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

गोर्खाज फाइनान्स, हिमालयन डिस्टीलरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, बोटलर्स नेपाल(तराई) लिमीटेडको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लागेको हो । यो दिन हिमालयन डिस्टीलरीको मूल्य बजार खुलेको २ मिनेटमै सर्किट लागेको थियो । त्यसपछि केहीबेर थोरै कममा कारोबार भए पनि पुनः सर्किट लागेपछि कारोबार बन्द भएको थियो । 

यो दिन शिवम् सिमेन्टको सेयरमूल्य ९.२५ प्रतिशतले बढेको छ । 

गुमाउने कम्पनीहरुमा जलविद्युत कम्पनीहरु नै अगाडि देखिए । यो दिन धेरै गुमाउने १० कम्पनीको सूचीमा ७ स्थान जलविद्युत कम्पनीहरुले ओगटे । घलेम्दी हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सबैको लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयरमूल्य ६ प्रतिशत हाराहारीमा घट्यो ।