काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्सेले सुखद ओपनिङ गरेको छ।

नेप्सेले हालसम्मकै इन्ट्राडे कारोबारमा उच्च विन्दु (२२३८.८५ विन्दु) छोएको छ भने अन्तिम अवस्थामा केही अंक तल झरेर २२३५.७२ अंक कायम भएको हो। यो नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ पनि हो।

आज आइतबार सेयर कारोबार मापन नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आउँदा बजारमा उत्साह छाएको छ। परिसूचक आज ४१.२४ अंक वृद्धि भई २२३५.७२ अंक कायम भएको आजको दिन कारोबार रकम पनि बढेर सवा ६ अर्ब रुपैयाँ बढी सम्पन्न भएको छ।

साताको पहिलो दिन आज बैंक तथा  वित्तीय संस्थाका धितोपत्र खरिद गर्नेको घुइँचो देखियो। आज बैंक, विकास बैंक र वित्त समूह अन्य समूहको तुलनामा निकै राम्रो बढेका छन्। बैंकिङ समूहले नै आज परिसूचकलाई माथि उचाल्ने काम गरेको विश्लेषकहरु बताउँछन्।

आजको दिन लगानीकर्ताहरु महँगा स्क्रिप्टमा प्रफिट बुक गरी बैंकका सेयरहरु धमाधम खरिद गरेको देखिन्छ। राजनीतिक घटनाक्रमले बजारको आगामी दिशाका विषयमा अन्यौल भएकाले पनि लगानीकर्ताहरु जोखिम कम भएका सेयरमा आकर्षित भएको विश्लेषकहरु जिकिर गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक ८८.४५ अंकले उकालो लागेको छ। व्यापार समूह ७८.०३ अंकले बढेको आज बैंकिङ समूहमा ५९.६१ अंक, होटेल्स् समूहमा २०.५४ अंक, जलविद्युत् समूहमा १६.६५ अंक, वित्त समूहमा १९.२१ अंक, निर्जीवन बीमा समूहमा ३९.०८ अंक, उत्पादन तथा प्रशोधन समूहमा २५.९७ अंक, लघुवित्त समूहमा २१.८ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ। 
आज निर्जीवन बीमा समूह १७.१६ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ।

यो दिन प्रभु बैंकको सर्वाधिक ४० करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २४ करोड १२ लाख रुपैयाँ, नबिल बैंकको २० करोड ३९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २० करोड ३८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १९ करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १७ करोड ९४ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ५४ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १४ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा नारायणी डेभलपमेन्ट बैंक, कुमार बैंक, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज नेपाल फाइनान्स र प्राइम कमर्सियल बैंकको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा आज ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।