काठमाण्डौ । सेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन भएको छ।
आज बजारमा ११.८१ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक १९७२.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३८१.३२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार विष्णु भुसाल दुई दिन राम्ररी बढेको बजारमा आज नाफा बुक भएको बताउँछन्। ‘अर्थ मन्त्रालयमा विष्णु पौडेलको आगमनले बजार बढेको थियो’, उनले भने, ‘अर्थमन्त्री बजारमैत्री आए पनि समस्या यथावत नै छन्। नीतिगत परिवर्तन नगरेसम्म बजार दीगो रुपमा बढ्न सक्दैन।’
अहिले सरकारले आन्तरिक ऋण उठाउने र कर तिर्ने पनि समय भएकोले तरलता टाइट हुन सक्ने भुसालको भनाइ छ। ‘त्यसैले अझै केही दिन बजार साइडवेजमा चल्न सक्छ’, उनले भने।
सक्रिय लगानीकर्ता यज्ञ घिमिरे आज बजार करेक्सन नै रहेको बताउँछन्। ‘हिजो–अस्ति बजार बढेकोले नाफा बुक भएको देखिन्छ’, उनले भने, ‘बजार धेरै घटिहाल्ने देखिँदैन।’
आज २ अर्ब रुपैयाँमाथि कारोबार हुनुलाई सकारात्मक नै मान्नुपर्ने घिमिरे बताउँछन्। ‘अर्को महिनाबाट ब्याज घटेर बजारले गति लिन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेको १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ०.७१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ०.२४ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.१९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३ प्रतिशत, लघुवित्त समूहमा १.०५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.८२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक ८ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ८ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपर तामाकोशीको ७ करोड ८४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड २४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५ करोड ९६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ५४ लाख रुपैयाँ, नेपाल र्बीमा कम्पनीको ५ करोड ५३ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ७४ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ७१ लाख रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र धौलागिरी लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारी बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन महुली लघुवित्तका सेयरधनीहरुले धेरे गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago