काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। 

बजार आज ५.३२ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक १९३३.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले घटेर ३६४.७८ को विन्दुमा आर्लेको छ। कारोबार हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँ बढीको मात्रै भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बैंकहरुको खराब कर्जा बढेको हल्लाले सेयर बजारमा नकारात्मक असर परेको बताउँछन्। ‘त्यो हल्लामात्रै होइन, त्यस सत्यता छैन’, उनले भने, ‘त्यसैले लगानीकर्तालाई बनको बाघले भन्दा मनको बाघले खाएको जस्तो देखियो।’

तेस्रो त्रैमासको रिपोर्ट आएपछि बैंकको अवस्थाबारे थप पुष्टि हुने बिष्टको भनाइ छ। 

अर्थमन्त्री को बन्ला भन्ने विषयमा पनि लगानीकर्ताको चासो बढेको देखिएको बिष्ट बताउँछन्। ‘यसकारण बजार अझै केही समय साइडवेजमा चल्न सक्छ’, उनले भने।

बजार जानकार यज्ञ घिमिरे पनि अमेरिकी बैंकहरु डुबेको समाचारलाई लिएर ठूलै हल्ला फैलाएर बजार घटाइएको बताउँछन्। ‘आजको बजारलाई हेर्दा खासै बिक्री दबाब देखिँदैन’, उनले भने। 

बजार अहिले तल्लो विन्दुमा रहेको भन्दै घिमिरे यो एभरेजिङ गर्ने समय रहेको बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा समूह रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.४१ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.३५ प्रतिशतले बढ्दा अन्य समूहमा ०.१२ प्रतिशत र जलविद्युत समूहमा ०.१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१४ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.९० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, विकास बैंक समूहमा ०.४० प्रतिशत, वित्त समूहमा ०.३३ प्रतिशत, जीवन बीमा समूहमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५८ कम्पनीका ३४ लाख २ हजार २६७ कित्ता सेयर १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२.५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ४ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख रुपैयाँ, सिद्धार्थ बैंकको संस्थापक सेयरको २ करोड ५६ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ३९ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३३ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको २ करोड २ लाख रुपैयाँ, अपी पावरको १ करोड ८६ लाख रुपैयाँ र सुपर मादी हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज युनिक नेपाल लघुवित्त र शुभम पावरका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन लक्ष्मी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।