-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरुका बारेमा आधिकारिक र विस्तृत जानकारी दिने विषयमा नेप्से निरीह देखिएको छ ।
यसले नेप्से नेतृत्व र सम्बन्धित महाशाखाको निष्क्रियता समेत देखाउँछ ।
धितोपत्र बजारमा सूचनाले अहम् भूमिका खेल्ने र धितोपत्रको मूल्यमा उत्तारचढाव हुने परिपाटी छ ।
नेप्से दोश्रो बजारको फ्रन्टलाइन नियामक भएकोमा दोश्रो बजारमा सूचिकृत कम्पनीका कारोबारका बारेमा यही संस्थाले आफ्नो वेबसाइटमा कम्पनीको पूर्ण जानकारी तथा सूचना राख्नु पर्दछ, ताकि लगानीकर्ताहरुले लगानीको सही निर्णय लिन सकुन् । तर यसविपरीत नेप्सेको वेबसाइटमा सूचिकरण गरिएका सूचिकृत कम्पनीका एकाध जानकारी मात्र देखिनु र अधिकांश महत्वपूर्ण जानकारी अपडेट नगरिएको भेट्याइनुले नेप्सेले संस्थागत सुशासन र लगानीकर्ताको सुसूचित हुने हकमा खेलवाड गरिरहेको देखिन्छ।
बिजशाला स्रोतले केही वर्षअघिसम्म नेप्सेका अधिकारीहरुले कुनै कम्पनीको सेयर दोश्रो बजारमा सूचिकरण गर्दा कम्तीमा दुई लाख रुपैयाँ नगद लिने गरेका र सम्बद्ध कम्पनीमा आफ्ना दुई जनालाई रोजगारी दिन बार्गेनिङ गर्ने गरेका दाबी गरेको छ । यहीकारण समेत सूचिकृत कम्पनीहरुले आफ्ना सबै जानकारी अपडेटमा अटेर गरेका हुनसक्ने स्रोतको अड्कल छ ।
नेप्सेले धेरै महिना अघि नाडेप लघुवित्तको कारोबार निलम्बन गरेको भोलिपल्ट लुरुक्क परेर कारोबार सुचारु गरेको थियो । त्यसबेलाको कारण थियो नेपाल धितोपत्र बोर्ड अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीका सहोदर भार्इ उपेन्द्रबहादुर कार्की सो कम्पनीमा सीइओ हुनु । अध्यक्ष कार्कीको एक फोनमा निलम्बन फुकुवा गर्न नेप्सेलाई बाध्य बनाइएको थियो ।
यसैबीच, केही महिनाअघि नबिल बैंकको कारोबार रोक्का गर्दा पनि प्रेसर थेग्न नसकेकै कारण तुरुन्तै कारोबार सुचारु गर्न नेप्से बाध्य बनेको थियो ।
नेप्सेका उच्च अधिकारीहरुले कम्पनीका धितोपत्रको कारोबार रोक्का गरेर कर्पोरेट बेनिफिट लिदै आएको बिजशाला स्रोतको दाबी समेत छ । यसर्थमा नेप्सेले फटाही गर्ने कम्पनीलाई कडा सजायको भागिदार नबनाउने अनि सर्वसाधारणको लगानीमाथि गम्भीर नभइदिंदा नेप्सेको नियामकीय क्षमतामाथि नै बेला बेला प्रश्नहरु उठ्ने गरेका छन् ।
सूचिकृत कम्पनीका सूचना तथा जानकारीहरुका लागि आम लगानीकर्ताहरुको समान पहुँच स्थापना हुने माध्यम भनेको नेप्सेको वेबसाईट नै हो । यसै त धितोपत्र बजार सूचनाको व्यापार भनेर चिनिएकोमा नेप्सेले सूचिकृत कम्पनीहरुलाई कम्पनीको प्रोफाइल, सम्पर्क नम्बर वा ठेगाना, कर्पोरेट गतिविधी, डिस्क्लोजर, बोर्ड अफ डाइरेक्टर्स सम्बन्धी सूचना, पूँजीगत संरचना, आवधिक वित्तीय विवरण लगायतका विषय समयमै वेबसाईटमा राख्न नेप्सेले नै कडाई नगर्दाको फाइदा त्यस्ता कम्पनीहरुले उठाइरहेका छन् । त्यस्ता कम्पनीमा आफ्नो पहुँच बनाई यही अन्यौलको अवस्थामा कतिपय खेलाडीहरुले गोप्य सूचना भजाएर बजारबाट करोडौं कमाइरहेका छन् । तर, सोझो ढंगले लगानी गर्ने कतिपय लगानीकर्ता सम्बद्ध कम्पनीको आवश्यक सबै सूचना समयमै नपाउँदा अनाहकमा डूबिरहेको छ ।
नेप्सेसँग सूचिकरण सम्झौता गरेपपछि कम्पनीहरुले आफैं लगईन लिने र समयसीमाभित्रै सूचना तथा जानकारीहरु अपडेट गराईनुपर्ने नियम छ । तर नेप्सेसँगको सम्झौतामा स्पष्ट रूपमा सूचना तथा जानकारी उपलब्ध गराउने करारनामा हुँदाहुँदै पनि नेप्सेको लाचरीपन र चरम लापरबाहीले सही र यथार्थ सूचनाबाट लगानीकर्ता बञ्चित हुनु परेको जानकार बताउँछन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १ सय ५५ वटा विभिन्न कम्पनीहरुले कर्पोरेट लगईन लिएका नेप्सेले जनाएको छ । बाँकी कम्पनीहरु कर्पोरेट लगईन लिन अनिच्छुक हुनु र लगईन लिएका कर्पोरेट हाउसले समेत सो कम्पनीसँग सम्बन्धित विस्तृत जानकारी उपलब्ध गराउँदैन । यहीकारण समेत पहुँचवालाहरुले सूचनाको व्यापार गरी बजारबाट कुस्त कमाउने गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19