काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०७८/७९ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ। 

नेप्सेले आज एक सूचना प्रकाशित गरी धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो। असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नुका साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने पनि नेप्सेले जनाएको छ। 

धितोपत्र सूचीकरण विनियमावलीअनुसार ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका सूचीकृत कम्पनीले धितोपत्रको वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ। ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले भने १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ। 

यसैगरी ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका डिबेन्चर तथा म्युचुअल फन्डहरुको वार्षिक नवीकरण शुल्क २५ हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएमा ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने व्यवस्था विनियमावलीले गरेको छ।