काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमबारदेखि १० बराबर ४ को अनुपात(४० प्रतिशत) हकप्रदको बिक्री खुलाएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रदको बिक्री खुलाएको हो । 

सोमबारदेखि खुलेको हकप्रदमा लगानीकर्ताले असार ३ गतेभित्रभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले हकप्रद प्रयोजनका लागि बैशाख ४ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ५ गतेसम्म कायम सेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।

सूर्या लाइफको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । 

सेयरधनीले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको बबरमहलस्थित मुख्य कार्यालय, सूर्या लाइफको सबै शाखा कार्यालय तथा सीआस्वा प्रणालीमा आबद्ध बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिनसक्नेछन् । 

हाल यो कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड माथि पुग्नेछ ।

बिमा समितिले जीवन बिमा कम्पनीले २०७५ असार मसान्तसम्म चुक्तापूँजी न्यूनतम २ अर्ब पुर्याउनुपर्ने नीति लिएको छ । यसको अर्थ सूर्या लाइफलाई तोकिएको चुक्तापूँजी पुर्याउन अझै गाह्रो अवस्था छ । हकप्रदपछि भने करिब ९९ करोड पूँजी अपुग हुने देखिन्छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९ करोड ७७ लाख खूद नाफा आर्जन गरेको छ । 

दोश्रो बजारमा यो कम्पनीको सेयरको अन्तिम बिक्री मूल्य ७३३ रुपैयाँ प्रतिकित्ता रहेको छ ।