काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा कमी आएको छ । गत वर्षको सोही अवधिका तुलनामा यस वर्ष २९ दशमलव ४७ प्रतिशत खुद नाफा कम भएको सोमबार सार्वजनिक वित्तीय विवरणले उल्लेख गरको छ । गत वर्ष २ करोड ५ लाख खुद नाफा आर्जन गरेको संस्थाले यस वर्ष १ करोड ४४ लाख मात्र खुद नाफा आर्जन गर्न सकेको हो । अन्य सूचक नकारात्मक बन्दा संस्थाको अवस्था निकै दयनीय देखिएको चालू आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय विवरणले देखाएको हो । 


कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत कमी आएकाले खुद नाफामा यसको नकारात्मक असर परेको हो ।  गत वर्ष ५ करोड २४ लाख खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ४ करोड ३९ लाखमात्र ब्याज आम्दानी गर्न सफल भएको हो । 


यसैगरी कम्पनीको सञ्चालन मुनाफामा समेत भारी पहिरो गएको छ । गत वर्ष ३ करोड २२ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष २ करोड २७ लाख मात्र आर्जन गर्न सकेको देखिएको छ ।

समीक्षा अवधिसम्ममा संस्थाले लिएको सापटी ४२ करोड ७५ लाख पुगेको छ । यस वर्ष ७८ करोड ७५ लाख कर्जा परिचालन गरेको संस्थाले गत वर्ष ६० करोड ५७ लाख मात्र कर्जा परिचालन गरेको थिया ।  गत वर्ष २१ करोड ७० लाख निक्षेप संकलन गरेको संस्थाले यस वर्ष ३५ करोड ६६ लाख निक्षेप संकलन गरेको छ । 

गत वर्ष शून्य दशमलव ६४ प्रतिशतमा खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष अझ वृद्धि भई १ दशमलव १७ प्रतिशतमा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात जतिसक्दो कम भएको राम्रो मानिन्छ ।


कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४० दशमलव ५५ रुपैया रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय दशमलव ४७ रुपैया कायम भएको छ ।


गत वर्ष ४ करोड मात्र चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँ ७६ लाखले वृद्धि गरेको छ । चुक्तापूँजीभन्दा २ लाख बढी अर्थाता ४ करोड ७८ लाख जगेडाकोषमा रहेको छ ।