काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकलाई क्रमशः १०ः३(३० प्रतिशत) र ३ः१(३३.३३ प्रतिशत) हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

दुवै कम्पनीको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि सिभिल क्यापिटल लिमीटेड बिक्री प्रबन्धक रहेको छ । 

प्राइम कमर्सियल बैंकको २०७२  पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता सेयर हकप्रदको रुपमा आफ्ना सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको थियो । 

यसैगरी, सेञ्चुरी बैंकले चाहि २०७३ माघ २२ गते सम्पन्न ५ औं वार्षिक साधारणसभाबाट ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद आफ्ना सेयरधनीलाई वितरणको प्रस्ताव पास गरेको थियो । 

प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ७० करोड ९५ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड रहेको छ । हकप्रद निश्कासन र व्यवस्थापनपछि यसको चुक्तापूँजी ४ अर्ब ९३ करोड पुग्ने बताइएको छ । 

हालै यो बैंकले विराट लक्ष्मी विकास बैंक र कन्टी डेभलपमेन्ट बैंकलाई खरीद गर्ने सम्झौता गरेको थियो । 

यसैगरी, सेञ्चुरी कमर्सियल बैंकले चाहि अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिमा २३ करोड २४ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद निश्कासनपछि यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ६९ करोड पुग्नेछ । यो बैंकले समेत हालै इनोभेटिभ डेभलपमेन्ट बैंकलाई खरीदका लागि एमओयू गरिसकेको छ ।