काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) सफ्टवेयर तयार गर्न ठेक्का आह्वान गरेको छ। 

सीडीएसले बिहीबार एक सूचना प्रकाशित गरी सेन्ट्रल केवाईसी सफ्टवेयर जडान गर्न ठेक्का आह्वान गरेको हो। इच्छुक तथा योग्य कम्पनीले यही अप्रिल ३० तारिख १ बजेसम्ममा २ लाख धरौटी राखेर शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। 

केही समयअघि नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गरेको थियो। सोही निर्देशिकाबमोजिम सेन्ट्रल केवाईसी तयार गरिन लागेको सीडीएससीले जनाएको छ। 

यो सेन्ट्रल केवआईसी सफटवेयरको क्षमता कति हुने भन्ने विषयमा सम्बन्धित बोलपत्र पेस गर्ने कम्पनीहरुबाटै निर्धारण हुने सीडीएससीका एक अधिकारी बताउँछन्। तर छनोट भएका कम्पनीहरुले ६ महिनाभित्र केवाईसी सफ्टवेयर तयार गरी सीडीएससीलाई उपलब्ध गराउनुपर्ने ती अधिकारीको भनाइ छ। ‘त्यसपछिको केही समयको परीक्षणपछि हामी यो सफ्टवेयर सञ्चालनमा ल्याउँछौँ’, ती अधिकारीले भने।

सेन्ट्रल केवाईसी प्रणाली सञ्चालनमा आएपछि लगानीकर्तालाई धितोपत्र कारोबारमा सहज हुने सीडीएससीले जनाएको छ। यो प्रणाली सञ्चालन आएपछि लगानीकर्ताले घरैबाट केवाईसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारीमार्फत तथा केवाईसी दर्ता प्रतिनिधिकोमा आफैँ व्यक्तिगत पहिचानसहितको केवाईसी विवरण भर्न सक्नेछन् ।  

यो प्रणाली सञ्चालनमा आएपछि धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकैखालको विवरण धेरै ठाउँमा पेस गर्नुपर्ने झन्झटिलो व्यवस्थाबाट मुक्त हुनेछन्। यसले समग्र धितोपत्र बजार प्रविधिमैत्री हुनेछ।