– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सीडीएससीले निर्माण गरेको सेन्ट्रल केवाईसी एप्लिकेसनको परीक्षणकार्य काम सकिएको छ।

सीडीएससीले केही समयअघिदेखि सेन्ट्रल केवाईसी एप्लिकेसन निर्माण गरी परीक्षण गरिरहेको थियो। ‘परीक्षण कार्य सकिएको छ’, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘हामीले केही समय पहिलेदेखि सेन्ट्रल केवाईसी ३–४ वटा डीपीमा परीक्षणको काम गरेको थियौँ। परीक्षण सफल भएको छ।’

प्रवक्ता न्यौपानेका अनुसार अब नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिले  सेन्ट्रल केवाईसीलाई स्वीकृति गरी कार्यान्वयनमा ल्याउन अनुमतिमात्र दिन बाँकी छ। 

अहिले सेन्ट्रल केवाईसीको मोडालिटीका विषयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए। ‘सेन्ट्रल केवाईसीमा पनि अहिलेको डीपी चार्जजस्तै सामान्य सेवा शुल्क लाग्न सक्छ’, उनले भने। 

सेन्ट्रल केवाईसीको व्यवस्था पुँजीबजारलाई मुख्य फोकस गरेर ल्याउन लागिएको न्यौपानेको भनाइ छ। ‘सेन्ट्रल केवाईसीको व्यवस्था लागू भएपछि लगानीकर्ताले ब्रोकर र डीपीहरुमा केवाईसी फारम भर्दै हिँड्नुपर्ने झन्झट अन्त्य हुनेछ’, उनले भने, ‘हाल पुँजीबजारका लागिमात्रै सेन्ट्रल केवाईसीको व्यवस्था ल्याउन लागिएको छ। प्रभावकारिता हेरेर बैंक तथा वित्तीय संस्थाहरुले पनि सेन्ट्रल केवाईसी लागू गर्न सक्छन्।’ 

बैंक तथा वित्तीय संस्थाहरुमा सेन्ट्रल केवाईसी लागू गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले नै  गर्नुपर्ने न्यौपानेले जानकारी दिए।