काठमाण्डौ । सीडीएससीले सञ्चालनमा ल्याएको सेन्ट्रल केवाईसी लिने डीपीको संख्या १३ पुगेको छ। 

सीडीएससीका अनुसार हालसम्म सेन्ट्रल केवाईसी लिनेमा डीपी सेवा प्रदान गर्ने नयाँ र पुराना गरी १३ वटा कम्पनी पुगेका छन्। यसरी सेन्ट्रल केवाईसी लिनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, गोर्खा फाइनान्स, हिमालयन ब्रोकेरेज कम्पनी, इम्पेरियल सेक्युरिटिज, मियो सेक्युरिटिज, नेपाल बैंक, प्रापर्टी बिजार्ड, सन सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन्। अब यी कम्पनीले ग्राहकको औँठाछाप, विद्युतीय हस्ताक्षर तथा फोटोसमेत प्रणालीमा अध्यावधिक हुनेछ।

सेन्ट्रल केवाईसी लागू भएपछि ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता खोल्न सक्नेछन्। खाता खोल्ने प्रक्रिया पूरा गरे ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिएपश्चात सीडीएससीबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकरलगायतका संस्थामा खाता खोल्नुपरेमा उक्त नम्बरको प्रयोग गरी सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटबाट ग्राहकमुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुने सीडीएससीले जनाएको छ। 

यसरी खोलिएका खाताको विवरणसमेत अनलाइन लगइनमार्फत ग्राहक आफैँले हेर्न पाउने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ। हाल ब्रोकरमा मात्रै लागू भएको सीकेवाईसी बैंक तथा वित्तीय क्षेत्रमा पनि लागू हुँदै जाने सक्ने सीडीएससीले जानाएको छ।