-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । हालसम्म सेन्ट्रल केवाईसी लिनेमा डीपी सेवा प्रदान गर्ने नयाँ र पुराना गरी ४४ वटा कम्पनीहरु पुगेको छ ।

सीडीएससीका अनुसार सेन्ट्रल केवासीमा जाने  कम्पनीले ग्राहकको औंठाछाप, विद्युतीय हस्ताक्षर तथा फोटोसमेत प्रणालीमा अद्यावधिक हुनेछ । यसरी सेन्ट्रल केवासीमा जानेहरुमा अधिकांस सेयर  ब्रोकर कम्पनीहरु र  केही बैंक तथा डीपी सेवा दिने संस्थाहरु छन् ।

तर सेन्ट्रल केवाईसी लागू भएको महिनौं बितिसक्दा पनि मर्चेन्ट बैंकरहरुको तर्फबाट एउटा पनि संस्था आजसम्म  त्यसमा आबद्ध भएका छैनन् । 

स्रोतका अनुसार सेन्ट्रल केवासी ल्याउनु पुर्व मर्चेन्ट बैंकहरुले केही शुल्क लिन पाउने लवीईङ गरेका थिए । तर हरेक पटक लगानीकर्ताले  सेन्ट्रल केवाईसी अपडेट गर्दा शुल्क नपाउने भएपछि हाल ३३ वटा रहेका मर्चेन्ट बैंकहरु पनि आबद्ध नभएका हुन् ।

मर्चेन्ट बैंकर संघका अध्यक्ष बिजयलाल श्रेष्ठका अनुसार लागतकै विषयका कारण अहिले नै मर्चेन्ट बैंकहरु सेन्ट्रल केवाईसीमा जान नसकेको बताए । उनले भने, ‘कुनै कुनै मर्चेन्ट बैंकहरुको ६ लाखभन्दा बढी सदस्य छन्, सेन्ट्रल केवाईसीमा जाँदा केहि न केहि लागत पर्ने गर्छ,त्यो लागत सीडीएससीलाई व्यहोरिदिन भनेका छौं, यदि त्यसो भएमा आफुहरु तुरुन्तै सेन्ट्रल केवाईसीमा जान तयार छौं ।’

सेन्ट्रल केवाईसी लागू भएपछि ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता खोल्न सक्नेछन्। खाता खोल्ने प्रक्रिया पूरा गरेर ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिएपश्चात सीडीएससीबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकरलगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गरी सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटबाट ग्राहक मुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुने सीडीएससीले जनाएको छ। 

यसरी खोलिएका खाताको विवरणसमेत अनलाइन लगइनमार्फत् ग्राहक आफैंले हेर्न पाउने व्यवस्थासमेत  छ।

हाल ब्रोकरमा मात्रै लागू भएको सी-केवाईसी बैंक तथा वित्तीय क्षेत्रमा पनि लागू हुँदै जाने सक्ने सीडीएससीले जानाएको छ।