काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानालाई स्वागत गर्दै बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिने लगायतका काम पेण्डिङ रहेका भन्दै तिनीहरुलाई यथाशक्य अगाडि बढाउन आग्रह गरेका छन् ।
शुक्रबार जाउलाखेलस्थित बोर्ड कार्यालयमा कार्यभार सम्हाल्न पुगेका नवनियुक्त अध्यक्ष ढुंगानालाई उनीहरुले त्यस्तो आग्रह गरेका हुन् ।
बोर्डका वरिष्ठ कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले उनलाई स्वागत गर्दै पूँजीबजारको विकास र बिस्तारका लागि निर्णय भएका, तर विविध कारणले अड्किएका महत्वपूर्ण कामहरु अगाडि बढाइनुपर्नेमा जोड दिए । उनले भनेका महत्वपूर्ण कामहरुको सूचिमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स विषय समेत उठ्यो । ‘बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने अवस्था छ ।’ उनले स्वागतका साथ सुझाव पेश गर्दै भने–‘यो विषय अर्थसमितिमा अड्किएर बसेको छ, त्यहाँबाट चाँडो निर्देशन पठाउन लगाएर टुंग्याउन आवश्यक छ ।’
उनले बोर्ड स्थापनाको २६ वर्ष बिते पनि यसको आफ्नै कार्यालय भवन नरहेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राखिदिन अध्यक्षलाई आग्रह गरे ।
उनले धितोपत्र बोर्डलाई सशक्त नियमन निकायको रुपमा अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै खरो रुपमा काम गर्नुपर्ने अवस्थाको विषयमा समेत अवगत गराए ।
बोर्डको कार्यक्षेत्र तथा दायरा बढ्दै गएको उल्लेख गर्दै नियमावली संसोधनका कार्यमा चाँडो स्वीकृत गराउने वातावरण बनाई बजारको विकासका लागि अगाडि बढिहाल्नुपर्ने अवस्था रहेको बताए ।
प्राथमिक बजार देशव्यापी भए पनि दोश्रो बजारलाई समेत देशव्यापी बनाउन आवश्यक रहेको, मार्जिन कारोबारलाई अझ सहज र व्यवस्थित बनाउन आवश्यक रहेको, स्टक डिलरको रुपमा नागरिक लगानीकोष लगायतलाई बजारमा प्रवेश गराउन ढिला भइसकेको, बिमा कम्पनीहरुलाई पनि सामूहिक लगानीकोष स्थापना गर्नसक्ने अधिकार प्रत्यायोजन गर्ने गरी नियमावलीमा संसोधन गर्नुपर्ने अवस्था रहेको, रियल सेक्टरका कम्पनीलाई प्रोत्साहित गर्न बुक बिल्डिङ सिस्टम ल्याउने जस्ता कुरा पनि बाँकी रहेको अवगत गराए ।
उनले केही समयभित्रै कमोडिटी बजार संचालनको लाइसेन्स दिनुपर्ने अवस्था रहेको समेत सो क्रममा अवगत गराएका थिए ।
पेण्डिङमा रहेका कामहरु फटाफट गर्न सकिएमा पूँजीबजारले नयाँ उचाई प्राप्त गर्ने उनको विश्वास थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago