काठमाण्डौ । धितोपत्र बोर्डका पूर्व अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डले ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त भन्दै सूची सार्वजनिक गर्नु गलत रहेको प्रतिक्रिया दिएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

'आजको विज्ञप्ति पर्याप्त अध्ययनबिना हचुवाको भरमा आएकोजस्तो देखिन्छ ।' उनले भने-'नियामकले यति फितलो काम गर्नुहुन्न । फेरि यसरी कुनै कम्पनीको सूची नै सार्वजनिक गर्ने भन्ने कुरा बेसिक नम्सभित्र पर्दैन ।' 

उनले बैंकलाई ब्रोकर लाइसेन्सको विषयलाई अड्काउने र आधारभूत कुरामै पनि अहिलेको बोर्ड नेतृत्व चुकिरहेको बताए । 'बोर्डको आजको कदमले लगानीकर्ताको हित हुने देखिन्न ।' उनले भने-'बेसिक सिद्धान्तभन्दा बाहिर गएर नियामकले यस्तो गर्नु हुँदैन ।'

धितोपत्र बोर्डले भित्री चलखेल भएको भन्दै आज गहिरो अनुसन्धानको हवाला दिंदे ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गर्नु जोखिमयुक्त भनी विज्ञप्ति सार्वजनिक गरेको थियो । सर्कुलर टेडिंगकै शैलीमा बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनेपछि यसले बजारमा तीव्र बहस छेडिएको छ । बोर्डको कदमलाई अधिकांश गलत र आलोचनायोग्य भनिरहेका छन्  ।