काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अहिले ८ वटा कम्पनीको हकप्रद सेयर रहेका छन्। 

हकप्रद सेयर निष्कासनका लागि ६ वटा हाइड्रोपावर कम्पनी, एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीले कुल १६ अर्ब ९४ करोड ४६ लाख २५ हजार २७१ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमति पर्खेर बसेका हुन्। सेबोनले अनुमति दिएमा यी कम्पनीहरुले १०० अंकित दरका कुल १६ करोड ९४ लाख ४६ हजार २५२.७१ कित्ता हकप्रद जारी गर्नेछन्। 

अहिले सेबोनको पाइपलाइनमा सिनर्जी पावर, अपर तामाकोशी, नेसनल हाइड्रोपावर, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावरको हकप्रद छन्। त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक र मल्टीपर्पस फाइनान्सको हकप्रद पनि सेबोनको पाइपलाइनमा छन्। 

सिनर्जी पावरले २ः१ अर्थात चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। कम्पनीले सेबोनको अनुमति कुरेर बसेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

त्यसैगरी अपर तामाकोशीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्नेछ। सनराइज क्यापिटलले अपर तामाकोशीको हकप्रद बिक्री प्रबन्धकको काम गर्नेछ।

उता नेसनल हाइड्रोपावरले पनि चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी प्रक्रियामा छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद बिक्री गर्नेछ। नेसनल हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

अरुण काबेलीले चुक्तापुँजीको सतप्रतिशत र हिमाल दोलखा हाइड्रोपावरले चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेका छन्। जसअनुसार अरुण काबेलीले कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता र हिमाल दोलखा हाइड्रोपावरले १ करोड २० लाख कित्ता हकप्रद जारी गर्नेछन्। हकप्रद बिक्री प्रबन्धकमा अरुण काबेलीको नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमाल दोलखा हाइड्रोपावरको लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

यसैगरी अपी पावरले पनि चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी प्रक्रियामा छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद बिक्री गर्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

नारायणी डेभलपमेन्ट बैंकले भने चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो बैंकले १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद जारी गर्नेछ। ग्लोबल आइएमई क्यापिटलले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकको काम गर्नेछ। 

त्यस्तै मल्टीपर्पस फाइनान्सले पनि चुक्तापुँजीको ३५ प्रतिशत अर्थात १ः०.३५ प्रतिशत हकप्रद जारी गर्न सेबोनमा निवेदन दिएको छ। यो कम्पनीले १०० अंकित दरका कुल १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।