काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजार ५२.३९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २९६९.७२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ५४१.७२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम घटेर साढे १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को हिजोको वक्तव्यले आज बजारमा ठूलो गिरावट आउने धेरैको अनुमान थियो। तर बजारमा अनुमान गरेजस्तो गिरावट आएन। बुलिस बजारमा यत्तिको घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने जानकारहरु बताउँछन्।  

हिजो धितोपत्र बोर्डले वक्तव्य जारी गर्दै जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गर्नुका साथै लगानीकर्तालाई सचेत भएर लगानी गर्न सुझाव दिएको थियो।

बजार जानकार प्रेम ओली पनि आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘हिजो नेपाल धितोपत्र बोर्ड वक्तव्यले बजार घट्यो भन्नु एउटा बहानामात्र हो’, उनले भने, ‘बजार आज घट्नुलाई प्राकृतिक करेक्सनका रुपमा लिनुपर्छ।’ 

बजारले दैनिकजसो सूचक र कारोबार रकमा रेकर्ड ब्रेक गरेकोले पनि हिजो र आजको घटाइलाई करेक्सन नै मान्नुपर्ने ओलीको तर्क छ। ‘बजार लयमै छ, आत्तिनुपर्ने अवस्था छैन’, उनले भने, ‘अब केही दिनमै बजार पनि सकारात्मक बन्न सक्छ।’

बुलिस बजारमा नियमनकारी निकायहरु सक्रिय हुने हुँदा बेलाबेलामा आउने त्यस्ता वक्तव्यबाजीलाई सामान्य र सकारात्मक रुपमै लिनुपर्ने ओलीको भनाइ छ। ‘बजारमा अहिले अवसरैअवसर छ, सानातिना कुरामा अल्झेर बस्दा पछि पछुताउनुको विकल्प हुँदैन’, उनले भने। 

बुलिस बजारमा जोखिम बढी हुने हुनाले नियमनकारी निकायबाट अझै कडा–कडा खाले नीतिनियम आउन सक्ने ओली बताउँछन्। ‘जोखिम न्यूनीकरण हुनुपर्छ’, उनले भने, ‘तर सबैभन्दा उत्तम उपाय भनेको लगानीकर्ता आफैँ पनि सतर्क हुन आवश्यक छ।’

अर्का बजार जानकार मेघनाथ निरौला पनि बजारमा आज सामान्य करेक्सन आएको बताउँछन्। ‘एकातिर धितोपत्र बोर्डको वक्तव्य र अर्कोतिर आज बजार घट्नुले साना लगानीकर्ताहरु आत्तिका हुन सक्छन्’, उनले भने, ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था आएको छैन, बुलिस बजारमा यस्तै हुन्छ।’

बुलिस बजारमा नियमनकारी निकायले पनि सोचविचार गरेरमात्र कदम चाल्नुपर्ने सुझाव निरौलाको छ। ‘यद्यपि अहिले लगानीकर्ताहरु धेरै बाठा भइसकेका छन्’, उनले भने, ‘उनीहरुको मनोबल उच्च रहेकै कारण कारोबार रकमले बजारलाई साथ दिइरहेको छ।’

बजार केही दिनमै फर्किने सम्भावना रहेको निरौलाको अनुमान छ। ‘अब लगानीकर्ताहरुले सोचविचार गरेर राम्रा कम्पनीहरुमात्र लगानी गर्ने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘अब बैंकिङ सेक्टर चल्न सक्छ। बैंकिङ सेक्टर चलेपछि बजारमा उछाल पक्कै आउँछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको भने बाँकी १२ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूहमात्रै २.६३ प्रतिशतले उकालो लागेको छ। 

आज वित्त समूह सर्वाधिक ६.८ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ५.१४ प्रतिशतले ओरालो लागेको यो दिन जलविद्युत समूहमा ४.७५ प्रतिशत, विकास बैंक समूहमा ४.०४ प्रतिशत बैंकिङ समूहमा ०.४७ प्रतिशत, व्यापार समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१७ प्रतिशत, अन्य समूहमा २.९८ प्रतिशत, जीवन बीमा समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत र लगानी समूहमा २.५४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमधये २१९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६० करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ४६ करोड ७६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३४ करोड ४० लाख रुपैयाँ, अपी पावरको ३१ करोड ४६ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको २६ करोड ९० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २५ करोड ८२ लाख रुपैयाँ, निफ्राको २५ करोड ६३ लाख रुपैयाँ, अरुण काबेली पावरको २४ करोड ६२ लाख रुपैयाँ र कुमारी बैंकको २३ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सीईडीबी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लाग्यो। फर्स्ट माइक्रोफाइनान्सको सेयरभाउ पनि ७ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन १३ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेसनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत, बेस्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, मल्टीपर्पस फिनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। 

आज समृद्धि फाइनान्स, पाँचथर पावर कम्पनी, हिमालयन पावर र सोल्टी होटेलको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको गिरावट आएको छ।