काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि उठेका १९ बुँदे माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)को पहलमा कार्यान्वयन समिति गठन भएकोमा लगानीकर्ताहरुका संघसंगठन स्वागत गरेका छन्। 

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै सेबोनको उक्त कदमको स्वागत गरेका हुन्। ‘जायज मागहरुलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गर्नुभएकोमा सेबोन अध्यक्षलाई धन्यवाद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा गत असार ७ गते सेबोनले गरेको पत्रकार सम्मेलनमा उल्लेख भएका केही  बुँदालाई आफूहरुले सकारात्मक रुपमा लिएको उल्लेख छ। ‘बाँकी बुँदामा आपसी छलफलबाट समाधान हुनेमा हामी आमलगानीकर्ता विश्वस्त छौँ’, विज्ञप्तिमा उल्लेख छ। 

सेबोनबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र कामु कार्यकारी निर्देशक मुक्तिराम श्रेष्ठसहित लगानीकर्ताका आधिकारिक संघसंगठनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको र मागहरुका सम्बन्धमा यथाशीघ्र कामकारबाही अगाडि बढाउने प्रतिबद्धता जनाइएकोमा विज्ञप्तिमार्फत आभार व्यक्त गरिएको छ।