काठमाण्डौं । नेपाल धितोबोर्डले आफ्नो नीति तथा कार्यक्रम अनुसार लगानीकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । 

बोर्डले एक सूचना प्रकाशित गर्दै आगामी साउन २५ गते शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ५० जना लगानीकर्तालाई प्रशिक्षण दिइने जानकारी दिएको हो । 

त्यसका लागि बोर्डले कार्यालयको फोन नं. ०१-५०००१०२/१६२/१०२ मा सम्पर्क गरी आफ्नो नाम टिपाउन आह्वान गरेको छ । पहिलो ५० जनालाई मात्र साउन २५ गतेको कार्यक्रममा सहभागी गराइने र बाँकी लगानीकर्तालाई क्रमशः सहभागी गराउँदै लगिने बोर्डको सूचनामा उल्लेख छ । 

प्रशिक्षण कार्यक्रम जावलाखेलस्थित बोर्डकै हलमा आयोजना हुनेछ । हलको अधिकतम क्षमता ५० जना मात्रै हो । 

बोर्डले आर्थिक वर्ष २०७५/७६ को  धितोबजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत नयाँ लगानीकर्तालाई  दृष्टिगत गर्दैै प्रशिक्षण कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । त्यसैको कार्यान्वयनको सुरुवात गर्न लागिएको हो । 

बोर्डले अब प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क  रुपमा धितोबजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने समेत बताएको छ ।