काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि अन्तिम तीन उम्मेदवारको नाम अर्को साता मन्त्रिपरिषद्मा पठाइने भएको छ।
छनोट तथा सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलका अनुसार बोर्डको अध्यक्ष पदका लागि विज्ञ समूहले मूल्यांकन गरी अन्तिम पाँच उम्मेदवारको नाम छनोट गर्दै शिलबन्दीपत्र समितिसमक्ष बुझासकेको छ । ‘बोर्ड अध्यक्षका लागि परेका ८ उम्मेदवारहरुमध्ये ५ जनाको मोटामोटी नतिजा आइसक्यो’, उनले भने ।
स्रोतका अनुसार पहिलो चरणमा सर्टलिस्टमा भीष्मराज ढुंगाना, डा. नवराज अधिकारी, केशवलाल श्रेष्ठ, निरज गिरी र सीताराम थपलिया परेका छन् । यिनै ५ नाममध्ये ३ जनाको नाम क्याबिनेटमा पठाइनेछ ।
बोर्ड अध्यक्ष आकांक्षी उम्मेदवारहरुले पेस गरेका कार्यपत्रमाथि तीनजनाको विज्ञ समूहले मूल्यांकन गरी अन्तिम ५ जनाको नाम छनोट गरी समितिमा सिफारिस गरी पठाएको फुयाँलले जानकारी दिए । ‘अब हामी ती सिफारिस भई आएका उम्मेदवारहरुबारेमा थप मूल्यांकन गर्न अन्तर्वार्ता लिन्छौँं’, उनले भने, ‘उम्मेदवारहरुले पनि सम्बन्धित पदका लागि आफूले तयार पारेको कार्यपत्र समितिसमक्ष प्रस्तुति गर्नेछन् ।’
अन्तर्वार्ता र कार्यपत्र प्रस्तुतिलगत्तै तीमध्ये योग्य ३ उम्मेदवार छनोट गरी समितिले अर्को साताभित्र मन्त्रिपरिषद्मा सिफारिस गरी पठाउने फुयाँलले जानकारी दिए ।
समितिले उम्मेदवार छनोटका लागि तीनजनाको विज्ञ समूहलाई स्वतन्त्र ढंगले मूल्यांकन गर्न स्वतन्त्रता दिएको थियो । सोहीअनुसार विज्ञ समूहले अध्यक्ष पदका लागि परेको ८ उम्मेदवारको मूल्यांकन गरी ५ जनाको नाम समितिसमक्ष सिफारिस गरी पठाएको हो ।
समितिले दिएका ३ नाममध्येका एकजनालाई अर्थमन्त्रीको प्रस्तावमा मन्त्रीपरिषद बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।
तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पदावधि असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
केही समयअघि अर्थमन्त्रालयबाट गठित छनौट समितिले अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धा आह्वान गरेको थियो । जसमा ८ जनाले दरखास्त दिएका थिए ।
अध्यक्ष बन्ने दौडमा भिष्म ढुंगाना, डा। नवराज अधिकारी, निरज गिरी, सीताराम थपलिया, नरेन्द्र सिँजापति, दिल सारु मगर लगायतले दरखास्त दिएका छन् ।
आवेदन दिएकामध्ये भीष्म ढुंगाना र डा। नवराज अधिकारीको अध्यक्षमा नियुक्त हुने संभावना प्रवल रहेको स्रोतहरु बताउँछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19