– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल ब्रोकरहरुप्रति आक्रामक देखिएका छन्। अध्यक्ष नियुक्ति भएको पहिलो दिनदेखि नै बजार विस्तार र सुधार गर्दै साना लगानीकर्ताको हितमा काम गर्छु भन्दै आएका हमालको टी प्लस टु सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उनले ब्रोकर कमिसन र ब्रोकर लाइसेन्सबारे अध्ययन गर्छुजस्ता अभिव्यक्तिले ब्रोकरहरु तरंगित भएका छन्। आफ्नो व्यवसाय नै सुस्ताएको बेला सेबोन अध्यक्षको त्यस्तो अभिव्यक्तिले ब्रोकरहरुमा तनाव थपिएको छ।

लगानीकर्ताका साथै लगानीकर्ता संघसंगठनका नेताहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिनुका साथै ब्रोकर कमिसन घटाउनुपर्ने भन्दै आन्दोलितसमेत हुँदै आएकाले अध्यक्ष हमालले ब्रोकर लाइसेन्सका साथै ब्रोकर कमिसन के गर्लान् भन्ने विषयले अहिले ब्रोकरहरु चिन्तित भएका छन्। 

ब्रोकरहरु अहिले थप ब्रोकर आवश्यक नहुनुका साथै ब्रोकर कमिसन घटाउँदै गर्दा ब्रोकरको कार्य–क्षेत्र विस्तार गर्नुपर्ने बताउँदै आएका छन्।

‘नेपाली सेयर बजारबारे ब्रोकरभन्दा बढी कसलाई थाहा होला र ?’, प्रश्न गर्दै एक ब्रोकर सञ्चालक भन्छन्, ‘सस्तो लोकप्रियताका लागि ब्रोकरसँग छलफल नगरी ब्रोकर संख्या थप्ने, ब्रोकर कमिसन घटाउने संकेत गर्दै बोर्ड अध्यक्ष पत्रकार सम्मेलन गर्नु नै गलत हो। बोर्ड हामीलाई नियमन गर्ने निकाय हो। त्यसैले पब्लिकमा आएर केही बोल्नुअघि अध्ययन साथै सम्बन्धित निकायहरुसँग छलफल गरेरमात्र आफ्नो अभिव्यक्ति दिनुपर्छ। ब्रोकरलाई नभेट्ने, ब्रोकरको समस्या नसुन्ने, ब्रोकरको अहिलेको अवस्था नबुझ्ने तर तिनै ब्रोकरबारे पूर्वनिर्धारित राय दिनु गलत प्रवृत्ति हो।’  

बोर्डका कर्मचारीदेखि लिएर नियुक्त हुने अध्यक्षसमेतको ब्रोकरहरुलाई हेर्ने नजिर नै सधैँ नकारात्मक रहेको ब्रोकर सञ्चालकको आरोप छ। ‘बोर्डको अध्यक्षका साथै कर्मचारीहरुले ब्रोकरहरुले कमाएको मात्र देख्छन्। बोर्ड आफूले लिने शुल्क यथावत् राख्ने अनि सधैँ ब्रोकर कमिसन घटाएर ब्रोकरहरुलाई मात्र चपेटामा पार्ने काम बन्द हुनुपर्छ’, ती ब्रोकर सञ्चालकले भने, ‘कानुन संशोधन गरेर बजारमा शुल्क निर्धारण गर्ने जिम्मा अर्थ मन्त्रालयमा जानुपर्छ। कि त बोर्डले एकपक्षीय नीति बनाउन बन्द गर्नुपर्छ। आफैँले पैसा असुल्ने भएपछि सधैँ बायस्ड नीति बन्छ। त्यसैले कुनै नीतिले एक पक्षलाई फाइदा हुँदै गर्दा अर्को पक्ष मर्कामा पर्छ।’

विगत केही हप्तादेखि उल्लेख्नीय कारोबार नहुँदा ब्रोकरहरुको व्यवसाय ठप्प छ। अहिले भएका कारोबारको अधिकांश कारोबार औँलामा गन्न सकिने केही सीमित ब्रोकरहरुबाट मात्र भएको छ। ‘यही अवस्था हो भने ब्रोकरहरुलाई सिस्टम, अफिसको भाडा तिर्न र कर्मचारी पाल्न नै मुस्किल हुन्छ’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘बजारमा २२ अर्बको कारोबार भएको दिनको आम्दानी हेरेर ब्रोकरले यति कमायो भनेर हुँदैन। कारोबार रकम १–२ अर्बमा खुम्चिँदा ब्रोकरहरुको अवस्था के छ भनेर पनि बुझ्नुपर्छ। तर, बोर्ड अध्यक्षदेखि लिएर सबैको ध्यान मूलभूत समस्याभन्दा ब्रोकर थप्न र कमिसन घटाउनमा नै छ।’

अहिले सञ्चालनमा भएको ब्रोकरलाई व्यवसायहरुलाई सञ्चालन गर्न हम्मेहम्मे भएको बेला थप ब्रोकर आवश्यक नभएको ती सञ्चालकको भनाइ छ। ‘ब्रोकरले कमाएको देखेर अहिले सबैलाई ब्रोकर लाइसेन्स चाहिएको छ। तर, भएको ब्रोकरहरुलाई कसरी नियमन गर्ने, कार्यक्षेत्र कसरी विस्तार गर्ने, थप व्यवस्थित कसरी बनाउने भनेर कसैको चासोको विषय बनेको छैन’, ती सञ्चालकले भने। 

ब्रोकरहरुलाई शाखाको स्वीकृति नदिने तर बजार विस्तारको नाममा ब्रोकर लाइसेन्स थप्ने भन्दै ‘डबल फेस’ कुरा गर्न बन्द गर्नुपर्ने ती ब्रोकर सञ्चालकले बताए। ‘अहिले सबैले ब्रोकरहरुले कमाएको मात्र देखेका छन्। त्यसैले ठूला लगानीकर्तादेखि लिएर सचिव, मन्त्री, नेता, कर्मचारी सबैका नातेदारहरुलाई ब्रोकर लाइसेन्स चाहिएको छ’, ती ब्रोकर सञ्चालकले भने, ‘भोलिको दिनमा कुनै ब्रोकर डुब्यो भन्ने त्यसको जिम्मा कसले लिन्छ ? को उत्तरदायी हुन्छ? भएका ब्रोकरहरुलाई नियमन गर्न नसक्ने बोर्डले ब्रोकर थप्ने कुरामात्र गर्न बन्द गर्नुपर्छ।’ 

‘ब्रोकर व्यवसाय सञ्चालन भएको झन्डै २७–२८ वर्ष भयो। योबीचमा कति बैंक, फाइनान्सलगायत अन्य वित्तीय संस्थाहरु डुबे। तर यो अन्तरालमा ब्रोकरले पैसा नदिएर लगानीकर्तालाई गाह्रो हुने, ब्रोकरले गर्दा कोही डुब्ने अवस्था अहिलेसम्म सृजना भएको छैन। तर, हामी ब्रोकरहरु चुप छौँ भन्दैमा जहाँबाट पनि प्रहार गर्नु उचित हुँदैन। बजारमा दुई दिनमात्र ब्रोकरहरुले कारोबार बन्द गरेमा के हुन्छ?’, चेतावनी दिँदै ती ब्रोकर सञ्चालकले भने, ‘ब्रोकरहरुको इमानदारिताको फाइदा उठाउन अब बन्द गर्नुपर्छ।’ 

‘आजसम्म कुनै पनि ब्रोकर अफिसमा लगानीकर्ताहरुले ब्रोकरहरुले दिएको सेवामा असन्तुष्ट भएर धर्ना दिएको इतिहास छैन’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘लगानीकर्ताका नेताहरुले पनि साना लगानीकर्ताको नाममा राजनीति गरिरहेका छन्। उनीहरुको उद्देश्य नै सानाका नाममा आन्दोलित भएर ब्रोकर लाइसेन्स, इन्साइडर इन्फरमेसन लिने हो।’ 

‘अहिले भएको ब्रोकरहरुको अवस्था के छ ? कसरी सञ्चालन हुँदैछ? भन्ने बारे अध्ययन नगर्ने तर सानाका नाममा आफूले ब्रोकर लाइसेन्स लिनका लागि दबाब दिने काम गर्न नेताहरुले पनि बन्द गर्नुपर्छ’, ती ब्रोकर सञ्चालकले भने। 

‘२८ वर्षअघि जे थियो अहिले पनि नेपाली सेयर बजारमा त्यही नै छ। त्यतिबेला प्रिफेरेन्सिएल सेयरको कारोबार हुन्थ्यो अहिले त त्यो पनि बन्द भयो’, अर्का ब्रोकर सञ्चालकले भने, ‘ब्रोकरहरुको कार्यक्षेत्र विस्तार नगर्ने तर कमिसन घटाउने, ब्रोकर संख्या थप्नेजस्ता काममात्र गर्ने भए भएका ब्रोकरहरु बन्द गरे हुन्छ। विदेशमा कुनै एउटा क्लर्क ब्रोकर अफिसमा काम गर्यो भने विज्ञ भएर निस्कन्छ। तर, नेपालमा कुनै विज्ञ ब्रोकर अफिसमा काम गर्यो भने जानेका कुरा सबै बिर्सेर खरिदबिक्री गर्नमात्र जान्ने भएर निस्कन्छ।’

अन्य मुलुकमा जस्तै ब्रोकरलाई अन्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, बुक बिल्डिङ, एडभाइजरीलगायतको सेवा दिन अनुमति दिनुपर्ने ती ब्रोकर सञ्चालकको माग छ। केन्द्रीय कार्यालयहरुमा नै व्यवसाय ठप्प भएको बेला ब्रोकर थप्ने कुरा बन्द गर्नुपर्ने उनले बताए। ‘बोर्डले नियमन नगर्ने तर लाइसेन्समात्र दिने हो भने ‘नेपाल धितोपत्र बोर्ड’ को नाम ‘नेपाल धितोपत्र एजेन्ट’ राखे हुन्छ’, ती सञ्चालकले भने, ‘ब्रोकरले गर्दा लगानीकर्ताहरु मारमा परेमा, टी प्लस टुमा सेटलमेन्ट नगरेमा बोर्डले त्यस्तो ब्रोकरहरुलाई कारबाही गर्न सक्नुपर्छ। आफैँ नियमन गर्ने अनि आफैँ भएका ब्रोकरले भएन भन्दै ब्रोकर संख्या थप्नु भनेको ‘हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्को’ भने जस्तै हो।’ 

‘ब्रोकर संख्या थप्दै जाने हो भने अहिले राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जस्तै ब्रोकरहरुलाई पनि फोर्स मर्जरमा जान बाध्य बनाउने अवस्था नआउला भन्न सकिन्न’, ती ब्रोकर सञ्चालकले भने।