– अनन्त्य सुन्दर

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिले गत शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन) नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई भेटेर सुझाव दिएका छन्। उनीहरुले यसअघि नवनियुक्त अध्यक्ष हमाललाई भेटेर बधाइ तथा शुभकामनाको दिएको थियो। दोस्रो भेटमा भने ब्रोकर प्रतिनिधिहरुले बोर्ड अध्यक्षलाई लिखितका साथै मौखिक रुपमा सुझाव पनि दिएका हुन्।

भेटमा उपस्थित एसोसिएसनका एक कार्यसमिति सदस्यका अनुसार ब्रोकर कमिसन, ब्रोकर शाखा, ब्रोकरको डिस्प्ले, फ्लोर सिट, कार्यक्षेत्र विस्तार, अक्सन मार्केट, डेरीभेटिभ मार्केट लगायतका विषयमा केन्द्रित भएर सुझाव दिएको बताए। ‘हामीले मुख्यतया ५ वटा विषयमा सुझाव र आफ्नो धारणा राखेका छौँ, बोर्ड अध्यक्ष ती विषयमा सकारात्मक देखिनुभएको छ’, ती सदस्यले भने। 

यस्ता छन् ब्रोकरका सुझाव

१. ब्रोकर कमिसन

‘सेबोन अध्यक्षले पत्रकार सम्मेलनमा लगानीकर्तालाई राहत दिने भनेसँगै ब्रोकर कमिसन आजभोलि नै घट्छ भन्ने हल्ला बजारमा भएको छ’ ती सदस्यले भने, ‘हामीले प्रयोग गर्दै गरेको प्रविधि महँगो छ। कर्मचारी पनि थपिएका छन्। एक दिनको कारोबार हेरेर ब्रोकरको यति कमाइ भयो भनेर निष्कर्षमा पुग्नु हुँदैन। अहिले बजारमा कारोबार नहुँदा ब्रोकरहरुको अवस्था पनि हेर्नुपर्छ। त्यसैले ब्रोकर कमिसन अझै घटाउने ठाउँ नभएको बोर्ड अध्यक्षसँग राखेका छौँ।’  

बोर्ड अध्यक्षले पनि सीडीएससी, नेप्सेका साथै सेबोनमा लाग्ने सम्पूर्ण लागत घटाउँदै गर्दा विस्तृत अध्ययन र छलफलपछि मात्र घटाउने आश्वासन दिएको ती सदस्यले बताए। ‘विश्वमा सस्तो ब्रोकर कमिसन भएको मुलुकहरूको सुचीमा नेपाल पनि पर्छ’, ती सदस्य भने, ‘तर, हाम्रो मुलुकमा भने ब्रोकर कमिसन बजार बढाउने औजारमात्र भएको छ। कमिसन एक चोटि घटाएपछि गल्ती गर्यौँ भनेर फेरि बढाउन सम्भव छैन। त्यसैले बोर्डबाट कुनै निर्णय लिनुअघि ब्रोकर एवं बजारका सरोकारवालासँग बसेर विस्तृत अध्ययन र छलफलपश्चात मात्र निर्णय गर्न आवश्यक रहेको बोर्ड अध्यक्षसमक्ष राखेका छौँ।’

२. फ्लोर सिट

विश्वमा नै कहीँ नभएको सिस्टम हाम्रो मुलुकमा हुन्छ। अहिले लगानीकर्ता कम्पनीको फन्डामेन्टल एनालाइसिस, टेक्निकल एनालाइसिसभन्दा पनि ब्रोकर एनालाइसिस गर्न रुचाउँछन्। ती कार्यसमिति सदस्यले भने, ‘लगानीकर्ता फलानो ब्रोकरले यो किन्यो, त्यो बेच्यो भनेर लगानी निर्णय गरेका छन्। अहिले फ्लोर–सिटले गर्दा लगानीकर्तामात्र नभएर बजार नै मिसलिड भएका छन्। त्यसैले फ्लोर सिटको आवश्यकता, अहिले यसको औचित्य छ कि छैन भनेर पुनर्विचार गर्न बोर्ड अध्यक्षलाई सुझाव दिएका छौँ।’ 

‘फ्लोर सिटको अवधारणा ‘ओपन आउट क्राइ’ सिस्टम हुँदा आएको हो। त्यसबेला ब्रोकरको नाममा सेयर खरिद हुने भएकाले फ्लोर सिटको महत्व थियो’, ती सदस्यले भने, ‘तर अहिले हाम्रो बजार धेरै नै प्रविधिमैत्री हुनुका साथै लगानीकर्ताले आफ्नै नाममा सेयर खरिद गर्छन्। त्यसैले अहिले फ्लोर सिटले बजारमा राम्रो भन्दा विकृति बढेको छ।’

३.ब्रोकर डिस्प्ले

कोरोना कहर सुरु भएसँगै ब्रोकर हाउसमा हुने ब्रोकर डिस्प्ले अहिले बन्द भएको अवस्था छ। ‘कोरोनाअघि लगानीकर्ताको संख्या पनि थोरै थियो। अहिले लगानीकर्ताको संख्या पनि बढेको छ। त्यसैले विगतको तुलनामा अब ब्रोकर हाउसमा उपस्थित हुने लगानीकर्ता व्यवस्थापन गर्न त्यति सहज छैन’, ती कार्यसमिति सदस्यले भने, ‘अहिले लगानीकर्ताको हात–हातमा टीएमएस छ। त्यसैले ब्रोकर डिस्प्लेले गर्दा ब्रोकरहरुलाई चुनौती बढ्नुका साथै व्यवस्थापनमा थप कठिनाइ हुने देखिन्छ। बोर्ड अध्यक्षसमक्ष अहिले डिस्प्लेको आवश्यकता र औचित्यबारे पुनर्विचार गर्न भनेका छौँ।’

४.ब्रोकरको शाखा विस्तार

‘अहिले बजार विस्तारका लागि नयाँ ब्रोकर थप्ने कुरा उठ्ने गरेको छ’, ती कार्यसमिति सदस्यले भने, ‘तर, ब्रोकरहरुको शाखा विस्तारको फाइल महिनौँदेखि बोर्डको टेबलमा अड्किएको छ। त्यसैले ब्रोकरहरुलाई शाखा विस्तारका साथै आधिकारिक प्रतिनिधि नियुक्ति गरेर बजार विस्तारका बाटोहरु खुलाउन बोर्ड अध्यक्षलाई भनेका छौँ।’ 

कतिपय ब्रोकरहरुले पूर्वाधारदेखि कर्मचारी सबै तयारी अवस्थामा राखेकाले शाखा विस्तारको स्वीकृति पाउन साथ नयाँ शाखा विस्तार गर्ने ती कार्यसमिति सदस्यले बताए।

५. ब्रोकरहरुको कार्यक्षेत्र विस्तार

‘अहिले हामीले गर्दै आएको सेयर खरिदबिक्रीमात्र हो। तर, अन्य मुलुकका ब्रोकरहरुले भने पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी, बुक बिल्डिङ, अन्डर–राइटिङलगायतका थुप्रै सेवा दिँदै आएका छन्’, ती सदस्यले भने। त्यसैले नेपालमा भएका ब्रोकरहरुको पनि कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको कुरा बोर्ड अध्यक्षसमक्ष राखेको ती कार्यसमिति सदस्यले बताए।

त्यसका साथै डेरिभेटिभ मार्केट, अक्सन मार्केट, मार्जिन ट्रेडिङ, ब्रोकरको जोखिम व्यवस्थापनलगायतका विषयमा सुझाव दिएको ती सदस्यले बताए।