-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले संचालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा बैकिङ इन्टीग्रेसनको काम दुई साताभित्रै सुरुवात हुने भएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका सिइओ निलेश प्रधानले सम्पूर्ण टेस्टिङ फेज सकिसकेको र अब दुई फेजमा एनसीएचएलको कनेक्ट आइपीएसमा लगानीकर्ताहरुले अनलाइन कारोबारमा खरिदबिक्रीका लागि भुक्तानी गर्नसक्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिएका हुन् । 

बिजशालासँग उनले भने–‘ब्रोकर कम्पनीले बैंकलाई जानकारी दिएपछि एकैपटक सबैलाई हामीले सिस्टमसँग सेटअप गर्छौं ।’

उनका अनुसार ब्रोकरहरुले आफ्नो खाता रहेको बैंकमा सेयर खरिदबिक्रीका लागि  बैंकसँग एउटा सम्झौता गर्नुपर्ने जानकारी आएको भन्दै उनले थपे–‘१–२ वटा ब्रोकरहरुले आफ्नो खाता रहेको बैंकसँग सम्झौता भइसकेको जानकारी आएको छ ।’ 

सुरुवाती फेजमा टीएमएसमा खरिदका लागि बैंक इन्टीग्रेसन गरिने र केही दिनमा पुनः बिक्रीका लागि समेत इन्टीग्रेसन गरिन लागेको प्रधानले जानकारी दिए । 

लगभग बैशाखभित्रै एनसीएचएलसँग सबै ब्रोकर कम्पनीहरुको बैंक खाता एकीकृत गरिन लागेको सीइओ प्रधानले दाबी गरे । 

हाल एनसीएचएलमा रियल टाइममा ४६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेकोमा थप ७ वटासँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । 
जम्मा ७६ वटा बैंक तथा वितीय संस्थासँग कम्पनी कनेक्ट आइपीएसमा जोडिएको बताएको छ । 

यता, नेप्से प्रमुख चन्द्रसिह साउदले अनलाइन कारोबारका लागि नेप्से र एनसीएचएल पूर्ण तयार रहेको र अब बैकिङ इन्टीग्रेसनमा ब्रोकरहरुको हात रहेको बताए । 

यसैबीच, ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले ३–४ दिनअघि प्रायः सबै ब्रोकरले बैंकलाई अनुरोध पठाएका र ४ जना जति ब्रोकर साथीहरुको बाँकी रहेको हुनसक्ने बताए । ‘हामी अब बैकिङ इन्टीग्रेसनका लागि सबैले एनसीएचएलमा कनेक्ट भएकामा नेप्सेको अनुमति पर्खिरहेका छौं ।’ उनले थपे ।

नेप्से अनलाइन ट्रेडिङ सिस्टममा अनलाइन भुक्तानी प्रणाली एकीकृत भएपछि यसले पूर्णता पाउने र लगानीकर्ताहरुलाई सहजतासँगै सेयर बजारमा अनलाइन कारोबार सहज हुने जानकारहरु बताउँछन् । 

बैंकिङ प्रणाली नेप्सेको टीएमएसमा एकीकृत भएपछि पूँजीबजारमा सबै पक्षलाई फाइदा पुग्ने एक ब्रोकरले बताए । उधारो कारोबार नहुने र यसबाट ब्रोकरलाई तनाव कम हुने उनले दाबी समेत  गरे ।