काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ।
आज नेप्से परिसूचक ९.३४ अंकको बढोत्तरीसँगै १४४०.९४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.८३ अंकको वृद्धिसँगै २९३.९७ को विन्दुमा उक्लिएको छ।
नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमार्फत सेयर किनबेचको निकै होडबाजी नै चलिरहेको छ। सेयर बजार प्रविधिमैत्री बन्दै जाँदा लगानीकर्ताहरुले सहजै घरबाटै एक क्लिकमा सेयर किनबेच र रकम भुक्तानी गर्ने व्यवस्थाले समेत लगानीकर्ताको मनोबल बढाइरहेको देखिन्छ।
यही सकारात्मक र उच्च मनोबलले पनि कोरोनाको डर र निषेधाज्ञालाई पन्छ्याउँदै सेयर खरिदबिक्री हुँदा परिसूचक नियमति उकालो लागिरहेको र निकट समयमा परिसूचकले फड्को मार्ने विश्लेषकहरुको भनाइ छ। पछिल्लो समय बैंकहरुले बचतमा प्रदान गर्ने ब्याजदर समेत २ प्रतिशत हाराहारीमा ल्याएपछि सेयर बजारमा सो पैसा लगानी गर्नेको जमात पनि निकै ओइरहेको विश्लेषकहरुको दाबी छ।
सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने प्रतिफल लिने मौकामा समेत सेयर किन्नेहरुको लहड देखिन्छ। प्राथमिक बजारबाट आएका लगानीकर्ताहरुसमेत दोस्रो बजारमा प्रवेश गरिरहेकाले समेत बजार थप मजबुत बन्दै गइरहेको विश्लेषकहरु बताउँछन्।
नियमित कारोबार समयमा समेत नेप्सेको मार्केट डेप्थ हेर्दा सेयरको आपूर्तिभन्दा थामिनसक्नु माग देखिन्छ। सेयरको मागकै कारण आगामी दिनमा सेयरमूल्य बढेसँगै नेप्से परिसूचकले समेत सकारात्मक लय समात्ने जानकारहरु सुनाउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छायो भने ३ वटामा रातो पोतियो।
यो दिन सबैभन्दा धेरै जीवन बीमा समूहमा १५१.७३ अंकको उछाल आयो। यस्तै बैंकिङ समूहमा १.९२ अंक, होटेल्स् समूहमा १०.२ अंक, विकास बैंक समूहमा २.७७ अंक, जलविद्युत् समूहमा ९.०५ अंक, वित्त समूहमा १.२ अंक, निर्जीवन बीमा समूहमा ३२.२६ अंक, अन्य समूहमा १८.५७ अंक र लघुवित्त समूहमा २०.०८ अंकको बढोत्तरी भएको छ।
आज व्यापार समूहमा ३.०६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.२५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ३९ लाख ४० हजार ६९१ कित्ता सेयर १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्रै २८ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भयो।
यस्तै नेको इन्सुरेन्सको १४ करोड २६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ४५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५ करोड २३ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड २५ लाख रुपैयाँ, नेसनल लाइफ इस्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ र एनएमबी बैंकको ३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा भने ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago