-भक्तराज रसाइली
धरान । सुनसरीको धरान निवासी प्रवीण अग्रवाल एक पुराना, अनुभवी र सक्रिय सेयर लगानीकर्ता हुन् । उनका पिता कनैयालाल अग्रवालको मृत्यु पश्चात उनको नाममा रहेको एक बैंकको  भौतिक  सेयर आफ्नो नाममा ल्याउन परेको कठिनाइले सेयर बजार काठमाडौबासीका लागि मात्रै हो कि भन्ने भ्रम पैदा गरिदिन सक्छ ।

अग्रवालको पिताको देहान्त भएको २ वर्ष बितिसकेको र पोहोर काठमाण्डौ गएर नामसारी गर्न नेप्सेको ढोका ढकढक्याउन पुगेको उनले सुनाए । 

तर, नेप्सेले आमालाई ल्याउन भन्यो । उनकी आमा बिरामका कारण ओछ्यानमै थन्किएकी थिइन्, ढलमलिन सक्ने अवस्था थिएन । अशक्त र रोगी भएकाले बुबाको देहान्तपछि पनि सेयरको नामसारी हुन सकेन ।

उनकी आमाको देहान्त भएको पनि अहिले २ महिना बितिसकेको छ र ६ दिनअघि  आफूले खोलेको डिम्याट सिद्धार्थ बैंक धरान शाखामा गई नामसारी गर्न प्रक्रिया चाल्ने प्रयास गरेको उनको भनाइ छ ।

सो बैंकका  कर्मचारीले 'सिडिएससीमा गएर बुझ्नुहोस' भनेको र सोही अनुसार बुझ्दा सिडिएससीले काठमाण्डौ आउनै पर्छ र आरटिएसकोमा गई त्यहाँ भेरिफाई गरे पश्चात अनि सिडिएसीमा आउनुपर्ने भनेको अग्रवालले बताए । 'त्यसपछि फेरि आरटिएसकोमा जानुहोस भन्यो ।'-उनले भने ।

भर्खरै सिडिएससीले आआफ्नो डीपीमार्फत नै घरायसी, मृत्यु नामसारी गर्ने व्यवस्था कार्यान्वयन नआउँदा सेयर लगानीकर्ताले अग्रवालले जस्ते दुःख पाइरहेका छन् । 'नयाँ व्यवस्था त कुरामा मात्र सीमित रहेछ ।' आक्रोशित मुद्रामा अग्रवालले भने-'मृत्यु नामसारी भनेको के हो ? भौतिक र डिम्याट सेयर किन नामसारी नगर्ने ? मोफसल बाहिरका मान्छेलाई दुःख दिन भएन ।' 

अब यसको समाधान के होला त ?  उनले प्रत्येक प्रदेशमा एउटा क्यापिटल हुनुपर्ने वा ब्रोकरकैबाट यो किसिमको सेवा पाउनुपर्ने बताए ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रसाद गुप्ताले  तिहार लगत्तै भौतिक प्रमाणपत्रको नामसारी पनि डीपीमार्फत नै गर्ने गरी बनाइसकिएको दाबी गरे । कार्यविधि निर्माण भइसकेको र संचालक समितिको बैठकद्वारा पारित गराउने काम भइसकेको पनि बताए । नेप्सेको पूर्ण अनलाइन कार्यान्वयन र उद्घाटनको कारणले त्यसको तयारीमा लाग्दा मृत्यु नामसारीको नयाँ व्यवस्था लागू गर्न नसकिएको उनको दाबी छ । 

मोफसलका लगानीकर्ताहरुको पीरमर्कालाई मध्यनजर गरेर नै यो व्यवस्था ल्याइएको र तिहारपछि मृत्यु नामसारीका लागि राजधानी आउन नपर्ने गुप्ताको दाबी छ ।