काठमाण्डौ । लगानीकर्तालाई न्यून बोनस वितरणको प्रस्ताव गरेको अपी पावर कम्पनी लिमीटेडले २ सय प्रतिशत(१ बराबर २)को दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ । 

सोमबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले हालको चुक्तापूँजीको २ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । 

विशेष साधारणसभाले कम्पनीको आगामी पूँजीयोजना समेत पास गरेको छ । यो कम्पनीले हकप्रदबाट पुँजी जुटाएर १ अर्ब १० करोड रुपैयाँ विभिन्न सोलार पावर प्रोजेक्टको विकासमा खर्च गर्ने र १ अर्ब चाहि निर्माणाधीन त्रिशुली गल्छी प्रोजेक्टमा लगानी गर्ने प्रस्ताव समेत पारित गरेको छ। 

यसअघि २०७२ चैत २७ सम्पन्न विशेष साधारणसभाले पनि २ सय प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । तर, धितोपत्र बोर्डले आइपीओ जारी गरिसकेका गैरबित्तीय क्षेत्रका कम्पनीले त्यसको २ वर्षपछि मात्र हकप्रद वा नयाँ सेयर जारी गर्न मिल्ने व्यवस्था गरेको थियो । यही व्यवस्थाका कारण अपीले पारित भइसकेको हकप्रद पनि निश्कासन गर्न पाएको थिएन । 

अपी पावरले २०७२  असार ११ गते आइपीओ जारी गरेको थियो । यही हिसाबले २०७४ असार ११ गतेपछि मात्र धितोपत्र बोर्डबाट विशेष साधारणसभाबाट पारित २ सय प्रतिशत हकप्रदले स्वीकृति पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रष्ट्याइएको छ । 

यो कम्पनीले १८ मेगावाटको सोलार प्रोजेक्ट र ८ मेगावाटको माथिल्लो नौगढ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना चालुु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना छ। कम्पनीले नाफामै राम्रै वृद्धि भएकोले अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयरधनीलाई राम्रै लाभांश बाँड्ने दाबी गरेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत मात्र बोनस वितरणको घोषणा गरेको थियो ।