काठमाण्डौ । सेयर बजारमा कुनै पनि कम्पनीको हकप्रद सेयरले ठूलो महत्व पाउँथ्यो। हकप्रद निकाल्न लागेको खबरले मात्रै कम्पनीहरुको सेयरभाउ उचालिने काम हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। हकप्रद सेयर बिक्न नै समस्या परिरहेको छ । 

नियामकहरुले कमजोर वित्तीय अवस्थाको कम्पनीलाई समेत प्रभावमा परेर प्रस्ताव गरे जति हकप्रद निश्कासन गर्न दिएपछि यसको विकृत रुप समेत देखिन थालेको छ । निश्कासित हकप्रदमध्ये ठूलो कित्तामा सेयरधनीले नै आवेदन नदिने अवस्था सिर्जना भएको छ । 

यसको पछिल्लो उदाहरणका रुपमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदलाई लिन सकिन्छ। मागबमोजिम आवेदन नपरेकै कारण अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरियो, तर थपिएको म्याद सकिन ५ दिन मात्र बाँकी छँदा समेत अवस्था उस्तै छ।

यो कम्पनीले निश्कासन गरेको कुल हकप्रदमध्ये मुश्किलले २५ प्रतिशत हाराहारी खरीदका लागि मात्रै निवेदन परेको छ । 

सिडीएससीका अनुसार बुधबार साँझ ५ः०७ बजेसम्म यो कम्पनीको २ करोड ७० लाख हाराहारी हकप्रद खरीदका लागि मात्र आवेदन परेको छ । 

यो भनेको कुल निश्कासित कित्ताको २५.५० प्रतिशत मात्र हो । यसको अर्थ बाँकी ७४.४९ प्रतिशत हकप्रद बिक्री भएको छैन । पाँच दिन मात्र समय रहेकोले अब निकै कम मात्र बिक्री हुने सम्भावना देखिन्छ । 

यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गरेको हो। कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।

कम्पनीले गत भदौ १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो। यसमा आवेदन दिने म्याद असोज ७ गतेसम्म थियो। तर, मागबमोजिम आवेदन नपरेकै कारण यो हकप्रद भर्ने म्याद बढाएर असोज २२ गतेसम्म पुर्याइएको छ । 

यो कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाको २–२ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

यसैगरी सर्वसाधारणतर्फ सर्वसाधारणको १५ प्रतिशत, स्थानीय १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व रहेको छ। यो हिसाबले अपर तामाकोशीमा सर्वसाधारण (स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीबाहेक) १ करोड ५८ लाख ८५ कित्ता रहेको छ भने ३ करोड ६० लाख ६ हजार कित्ता सेयर स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीहरुको छ। 

बजार जानकारहरु भने बजार घटेको बेला आइरहेका कम्पनीहरुको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण नदेखिएको बताउँछन्। ‘घट्दो बजारमा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धमाधम हकप्रद र प्रिमियममा आईपीओ ल्याउन दिइरहेको छ, यसले सप्लाई बढाएको छ’, एक बजार जानकारले भने, ‘अहिले सेयर बजारमा पूर्णकालीन रुपमा लागेका लगानीकर्ताहरु बजार घट्दा प्यानिक बनेका छन्। त्यसैले उनीहरुको आकर्षण हकप्रदमा घटेको देखिन्छ।’ 

अपर तामाकोशीको दोश्रो बजारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँ प्रतिकित्ता रहेको छ । 

कतिपयले यो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको र सेयरभाउ दोश्रो बजारमै अझ तल आउने विश्लेषणसहित हकप्रदमा आवेदन नदिएका देखिन्छ । 

लगानीकर्ताहरुलाई भने आर्थिक मन्दीले समेत हकप्रद भर्न प्रेरित नगरेको कतिपयको बुझाई छ ।