काठमाण्डौ । म्युचुअल फण्डहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको धितोपत्रमा लगानीको दायरा बढाउँदै लगेका छन् ।

पछिल्लो समय सेयरबजारमा सुधार देखिन थालेसँगै म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानीको दायरा बढाएका हुन् । 

म्युचुअल फण्डहरुले सार्वजनिक गरेको मंसिर महिनाको वित्तीय विवरणअनुसार ४ वटा म्युचुअल फण्डले सूचीकृत सेयरमा एक अर्ब भन्दा बढी लगानी गरेका छन् । 

तथ्याङ्कअनुसार ४२ म्युचुअल फण्डले कात्तिक महिनाको तुलनामा लगानी बढाएका छन् । ४ वटा फण्डले भने बैंक वित्तीय, बीमा र होटल तथा पर्यटन जस्ता कम्पनीहरुको सेयरमा अर्ब भन्दा बढी लगानी गरेका छन् । 

मंसिर महिनामा अर्ब भन्दा बढी लगानी गर्ने फण्डहरुमा एनआईबीएल सहभागीता फण्ड, एनएमबी सरल बचत फण्ड–ई, सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्ड रहेका छन् । 

अधिकांश फण्डहरुले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयरमा बढी लगानी गरेको पाइएको छ । मर्चेण्ट बैंकरहरुका अनुसार फण्डहरुले दीर्घकालिन लगानीमा जोड दिने भएकाले बैंक वित्तीय संस्था र बीमा कम्पनीको सेयरमा बढी लगानी गर्ने गर्छन । 
हाइड्रोपावर वा होटल तथा पर्यटन जस्ता कम्पनीहरुमा दीर्घकालिनका लागि लगानी गर्दा बढी जोखिम हुन सक्ने एक मर्चेण्ट बैंकरले बताए ।

‘म्युअुल फण्डले लङ टर्म इन्भेष्ट गर्ने भएकाले प्रतिफल पनि पाइने र लगानी गर्दा जोखिम समेत कम हुने खालको कम्पनीहरुमा बढी लगानी गर्ने गर्दछन र त्यस्ता कम्पनी भनेको बैंक वित्तीय संस्था र बीमा कम्पनीहरु नै छन्,’ ती बैंकरले बिजशाला डटकमसँग भने । 

मंसिर महिनामा सूचीकृत सेयरमा सबैभन्दा बढी लगानी गर्ने एनआईबीएल सहभागीता फण्ड छ । फण्डले सो अवधिसम्म १ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । 

जसमा १५ वाणिज्य बैंकहरुको सेयरमा मात्रै ३२ करोड ४४ लाख रुपैयाँ, ७ विकास बैंकको सेयरमा २९ करोड ५८ लाख, ५ वटा फाइनान्स कम्पनीको सेयरमा १० करोड १४ लाख, १२ हाइड्रोपावर कम्पनीको सेयरमा ९ करोड ५६ लाख, १४ बीमा कम्पनीको सेयरमा ३३ करोड ५५ लाख रुपैयाँ र बाँकी लगानी अन्य कम्पनीमा गरेको छ । 

त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई ले पनि मंसिर महिनामा १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । फण्डले ४ वटा वाणिज्य बैंक र दुई विकास बैंकमा कुल १९ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । 

साथै फण्डले सबैभन्दा बढी बीमा कम्पनी र लघुवित्त संस्थाहरुमा लगानी गरेको छ । १९ वटा लघुवित्त कम्पनीमा फण्डले कुल २२ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, ६ जीवन बीमा र २ निर्जीवन बीमा कम्पनी गरी कुल ८ बीमा कम्पनीको सेयरमा फण्डको लगानी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीले एकमात्रै जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

सिद्धार्थ इक्विटी फण्डले पनि मंसिर महिनासम्म १ अर्ब ९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । जसमा २३ बैंकको सेयरमा ५५ करोड ३ लाख रुपैयाँ, १३ बीमा कम्पनीको सेयरमा ३२ करोड २३ लाख रुपैयाँ लगानी छ भने बाँकी लगानी अन्य कम्पनीमा छ । 

त्यस्तै, यता सानिमा इक्विटी फण्डले पनि मंसिरमा सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ । जसमा फण्डले १६ वाणिज्य बैंकको सेयरमा ३३ करोड ४५ लाख, ८ वटा विकास बैंकको सेयरमा १० करोड १५ लाख रुपैयाँ, १२ बीमा कम्पनीको सेयरमा १८ करोड ३२ लाख रुपैयाँ लगानी रहेको छ, भने बाँकी लगानी अन्य कम्पनीमा छ । 

पछिल्लो समय म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाउँदै गएका छन् ।

सामुहिक लगानी कोषको धितोपत्र दोस्रो बजारमा लगानी बढ्दा कम्पनीहरुको सेयरभाउ समेत बढ्न सक्ने सेयर लगानीकर्ताहरु बताउँछन् ।