-सन्दिप पौडेल
विश्वमा जति पनि लगानीयोग्य वित्तीय उपकरणहरू उपलब्ध छन्, तीमध्ये उच्च प्रतिफल पाउने लगानीको क्षेत्र भनेको सेयरबजार हो । जति सेयरबाट नाफा आर्जन गर्न सकिन्छ, त्यति नै सेयरमा लगानी गर्दा जोखिम बहन गर्न सक्नुपर्छ । सेयर र समग्रपोर्टफोलियोको उचित ढंगले सुरक्षा गर्न जान्नुपर्छ । लगानीका क्षेत्र, कम्पनी, ब्यवसाय आदिमा लगानी गरेअनुसार नीतिनियमबद्ध भई आफ्नो पोर्टफोलियोको ब्यवस्थापन गर्न सिक्नुपर्छ । यसको साथसाथै कम्पनीको वित्तीय, गैरवित्तीय आदि पक्षहरूको राम्रोसँग खोजबिन गरी सही समयमा सही निर्णय लिन जान्नुपर्छ । सेयरमा लगानी गर्दा धेरै आधार र सूचकांकहरूमा ध्यान दिनुपर्छ । यसरी सोचीबुझेर, अध्यय गरेर तुलनात्मक विश्लेषणहरूमा केन्द्रित रही सेयरमा लगानीयोग्य कम्पनीहरू छानेर मात्र सेयर खरिद गर्न सकिन्छ । पूँजीबजारमा लगानी गर्दा लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति वा ग्यारेण्टी नै नभए पनि जोखिमको भार भने कम गर्न सकिन्छ । यसका लागि पोर्टफोलियो ब्यवस्थापनको सहयोग लिनुपर्छ ।
पोर्टफोलियो ब्यवस्थापनको मुख्य उद्देश्य भनेकै लगानीको सिस्टेमेटिक व्यवस्थापन गर्ने र समग्रमा जोखिम कम गर्ने हो । रणनीतिक आधारमा पोर्टफोलियो निर्माण नगरी सेयर किन्नु भनेको अधिक जोखिम निम्त्याउनु हो । त्यसैले सही प्रकिया तय गरी रणनीतिक योजना बनार्इ कुन समयमा सेयर खरिद गर्नु उचित छ, कस्ता सेयरमा लगानी गर्दा बढी लाभदायी हुन्छ, कति बर्ष वा महिनाका लागि होल्ड गर्ने, र कस्तो समयमा नाफा आर्जन गरी सजिलै बजारबाट बाहिरिने, आदि कुराहरूमा गहन अध्ययन गरी, सही बुझार्इ र मानसिकताको साथ बजारमा लागि पर्नु पर्दछ । सबै आवश्यक लगानीको औपचारिकताहरु पूरा गरेपछि अनि समयानुसार बजारमा टिक्नसक्नु नै लगानीकर्ताका लागि चुनौतिको बिषय हुन्छ ।
सेयरबजारको आफ्नै चक्र रहेको छ, जुन सामान्य रुपमा सबैलाई थाहा भएकै कुरा हो । बजार घट्ने र बढ्ने , घटेपछि बढ्ने र बढेपछि घटने । जुन सेयरबजारको प्राकृतिक नियम हो । यसरी घटने चक्र र बढने चक्रमा लगानीकर्ताहरूले समय र परिस्थिति अनुसार सफल निर्णय लिनु पनि चुनौतीपूर्ण छ । यस्ता चुनौतिको सामाना गर्दै लगानीकर्ताहरूले मजबुत मनोबलको साथ घटेको बजारमा सेयर खरिद गरी धैर्यताको साथ होल्ड गरी बढेको बेला आफूले योजनामा स्पष्ट पारेको मूल्यको सीमामा केन्द्रित रही सेयर बेच्नुपर्दछ । बढ्दो बजारमा अर्थात सेयरको बढने चक्र चलिरहेको बेला जस्तो कम्पनीको पनि सेयर मूल्य सोचेको भन्दा बढी बढ्न जान्छ र यो समय भन्ने गरिन्छ।, विद्यार्थी, गृहणी मात्र नभर्इ साधुसन्त समेत सेयरबजारमा लगानी गर्न थाल्छन्, बजारको उत्कर्ष देखेर । यस्ता समयमा सबैभन्दा बढी मानिसको मानसिकतामा प्रभाव पर्दछ । मान्छे होस्, बेहोस गरी, शिवजीको तीन नेत्र भनेजस्तै अत्तालिदै सेयरमा आक्रामक रूपमा ध्यान नै नदिर्इ सेयर खरिद गर्दै जान्छन् । जसका कारण बुल चक्रको समयवधि फेरिनु लगत्तै उसले धेरै वित्तीय समस्याहरू झेल्नुपर्दछ । हो यस्तो प्रकारको अस्थिर इमोसनबाट लगानीकर्ताहरू सधै टाढा बस्नुपर्छ । भावनालार्इ नियन्त्रण गर्नुनै एक असल र सफल लगानीकर्ताको राम्रो गुण हो ।
सेयरबजारका बाद्शाह वारेन बफेटले भनेका छन्-'अरु डराएको बेला तिमी लोभी बन र अरु लोभी बनेको बेला तिमी डराऊ(Be greedy when other are fearful and be fearful when other are greedy) । जसले स्पष्ट पार्छ कि लगानीकर्ताले सही समयमा प्रदर्शन गर्नुपर्ने मानवीय व्यवहार । तर नेपाली पूँजीबजारमा भने ठयाक्कै यो दर्शनको उल्टो गतिमा कुद्ने गरेको छ । त्यही भएर एक सफल लगानीकर्ताहरूले सेयरबजारमा अरू ब्यक्तिहरूको मनस्थिति समेत बुझ्न जरुरी छ ।
यही क्रममा लगानीकर्ताहरूले सेयर लगानीमा जोखिम ब्यवस्थापनको चुनौतिलाई सामना गर्न निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ:
१.भीडको निर्णय र मानसिकताबाट टाढा रहनुहोस(Avoid Herd Mentality)
सेयरबजारमा विशेषगरी नयाँ लगानीकर्ताहरूले लगानी गर्दा सामान्यतः ब्रोकर कार्यालयमा प्रचलित सल्लाह र भीडभाड र होडबाजीको भरमा गर्ने गर्दछन् । कतिपय लगानीकर्ताहरूले त ब्रोकर कार्यालयको सुझावकै भरमा नजानिकनै सेयर खरिदबिक्री गर्ने गर्दछन् । यसरी लगानी गर्दा अधिक जोखिम र घाटा हुने सम्भावना एकदम धेरै हुने गर्दछ र यस्ता कुराहरूबाट लगानीकर्ता सधै सचेत र टाढा रहनुपर्छ ।
२.सूचनाका आधारमा निर्णय लिनुहोस्(Take Informed Decision)
कुनै पनि सेयरमा लगानीगर्नु भन्दा अगाडि पर्याप्त अनुसन्धान र खोजी गर्न एकदमै जरूरी छ । सबै पक्षहरूले सही ढङ्गले खोजपार्ताल गरेपछि मात्र सेयर किन्ने कि नकिन्ने भन्ने निर्णय लिनुपर्दछ ।
३.आफूले बुझ्ने ब्यवसायमा मात्र लगानी गर्नुहोस(Invest in Business you understand)
हरेक लगानीकर्ताले सेयरमा पैसा लगाउनुभन्दा अगाडि आफूले जान्ने र बुझ्ने ब्यवसायमा मात्रै लगानी गर्नुपर्छ । सेयरमा भन्दा पनि ब्यवसायमा लगानी गर्नुहोस । आखिरमा ब्यवसायको सुधार, प्रगति वा दुर्गतिकै भरमा सेयर मूल्यांकन हुने गर्दछ ।
४.अनुशासित लगानीको सूत्र पछ्याउनुहोस्(Follow a disciplined investment approach)
लगानीको पनि आफ्नै अनुशासन हुने गर्दछ । सेयरको तथ्य र विश्लेषणको आधारमा केन्द्रित रही हरेक लगानीकर्ताले लगानी गर्दा अनुशासन, मर्यादा र नीतिनियमहरू पालना गर्नुपर्छ ।
५.पोर्टफोलियोमा विविधिकरण गर्नुहोस्(Create Diversified Portfolio)
सेयरमा विविधताको स्तर प्रत्येक लगानीकर्ताले जोखिम लिने क्षमतामा निर्भर गर्दछ । जोखिमलार्इ न्यूनिकरण गर्ने महत्वपूर्ण औजार भनेकै पोर्टफोलियोमा विविधिकरण गर्नु हो । त्यही भएर हरेक क्षेत्रमा राम्रो र ख्यातिप्राप्त कम्पनीको सेयरमा लगानी गर्दा फाइदामूलक हुन्छ ।
६.योजनाबद्ध रणनीति तयार गर्नुहोस्(Make Strategic Plan)
योजना र सही रणनीतिबिना कुनै काम सफल हुँदैन । सेयरबजारमा पनि हरेक क्षणमा योजना अनुसार चल्न जरूरी छ र समग्र पोर्टफोलियोको राम्रोसंग रेखदेख गर्न योजनाबद्ध रणनीति तयार गर्नुपर्छ ।
(लेखक सेयरबजारका युवा लगानीकर्ता हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago