– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लकडाउनपछि धेरै गृहिणी, युवा तथा विद्यार्थी सेयर बजार पसे। सेयर बजारमा कुनै समय थियो, किनेपछि दैनिक नाफै–नाफा। यही मुनाफा देखेर धेरैजसो व्यापारी तथा माडवारी समूह आफ्नो भएको पसल पनि बेचेर फुल टाइम सेयर बजारमा लागेका थिए।
झन्डै एक वर्षभन्दा बढी चलेको लकडाउनको समयमा अन्य कुनै विकल्प पनि थिएन। सेयर कारोबारमात्रै एउटा विकल्प थियो।
यही समयमा अरुजस्तै सेयर बजार छिर्ने एक उदाहरण पात्र हुन्, शुभम कार्की। अन्य काम बन्द भएपछि शुभमलाई पनि के गरौँ ? कसो गरौँ ? भएको थियो। उनले यही बेलामा सेयरबाट पनि राम्रै कमाउन सकिन्छ भन्ने हल्ला सुने। उनले केही अध्ययन पनि गरे। डिम्याट खाता खोले।
सबैभन्दा पहिले आफूले प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भरेको शुभमले सुनाए। ‘त्यसपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर ५० कित्ता सेयर पर्यो’, उनले भने।
लगातार आईपीओ पर्न थालेपछि शुभम निकै हौसिए। ‘पछि मलाई चन्द्रगिरी हिल्सको पनि आईपीओ पर्यो’, शुभमले भने, ‘चन्द्रागिरीको सेयरबाट मलाई २० हजार रुपैयाँ फाइदा भयो।’
प्राथमिक सेयरबाट कमाइ भएपछि शुभमलाई दोस्रो बजारमा कारोबार गर्ने रहर जाग्यो। उनले नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मार्फत कारोबार गर्छन्। ‘आईपीओमा परेको सेयर बेचेर नाफा भएपछि म दोस्रो बजारमा सबैभन्दा पहिले बैंकिङ सेक्टरबाट प्रवेश गरेको हुँ’, उनले भने, ‘मैले सुरुमा प्राइम बैंक, ग्लोबल आइएमई बैंकलगायतका बैंकको सेयर दोस्रो बजारबाट उठाएँ।’
पछि शुभमले छिमेक लघुवित्त, आइएमई जनरल इन्स्योरेन्सको सेयर पनि दोस्रो बजारबाट किने। ‘तर, मलाई सबैभन्दा बढी घाटा आइएमई इन्स्योरेन्सको सेयरबाट भयो’, उनले हाँस्दै भने, ‘यो कम्पनीको सेयर मैले प्रतिकित्ता १४४० रुपैयाँमा सर्किट हानेको समयमा किनेको थिएँ, आज ३८८ रुपैयाँमा आएको छ। मलाई प्रतिकित्ता १ हजार रुपैयाँभन्दा बढी घाटा छ तर पनि म खुसी नै छु।’
त्यसो त शुभमले एचडीएल, श्रीइन्भेस्टमेन्ट फाइनान्सजस्ता कम्पनी पनि किनेका थिए। ‘यिनीहरुबाट मलाई नाफा नै भयो’, उनले भने।
अहिले बजार दैनिकजसो घट्न थालेपछि शुभमले खासै पोर्टफोलियो हेर्दैनन्। ‘लगभग ८ महिना भयो मैले ‘मेरो सेयर’ खोलेर नहेरेको’, उनले भने, ‘अहिले त आईपीओ पनि पर्न छाडेपछि भर्न पनि मन लाग्दैन।’
शुभमको अनुभवमा कोरोनाकालमा सेयर बजारमा फाइदा नै थियो। ‘अहिले बजार घटेपछि एउटै स्क्रिप्टमा ३–४ लाख घाटा रहेको छ’, उनले भने।
सेयर बजारमा घाटा भएपछि अहिले शुभमले आफ्ना अन्य दुईजना साथी सिद्धार्थ त्रिताल र राजन वाइबासँग मिलेर ताम्राकार हाउसमा ‘त्रियुवा’ इन्टरप्राइजेज नै नाम राखेर ल्यापटप पसल खोलेका छन्। ‘हामी तिनैजना सेयर बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागेका थियौँ, पछि सल्लाह गरेर संयुक्त रुपमा पसल खोल्यौँ’, उनले भने, ‘पसलबाट राम्रै आम्दानी भइरहेको छ, अहिले सल्लाह गरेर पसलको कमाइबाट बचेको पैसा सेयरमा लगाउने गरेका छौँ।’
सेयर बजारमा अन्य व्यापारबाट कमाएको पैसा थोरै थोरै गरेर लगानी गर्दा दीर्घकालमा बोनस सेयर कम्पाउडिङ हुँदै जाँदा नाफा नै हुने शुभमको अनुभव छ। ‘सेयरमा खासगरी बचतको पैसा घटेको बेला लगाउन उपयुक्त हुन्छ’, उनले भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago