काठमाण्डौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सेयर बजारमा लगानी गरेर देशको उत्पादकत्व नबढ्ने बताएका छन्।

संघीय संसदको तल्लो सदनमा आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई पूरक प्रश्न राख्ने क्रममा सांसद सुवालले यस्तो धाराणा राखेका हुन्। ‘विशेषज्ञता हासिल भएका व्यक्तिहरुसमेत आफ्नो विशेषज्ञता भएको क्षेत्रमा नलागीकन एउटै क्षेत्र सेयरमा लगानी गर्नतिर लागे’, उनले भने, ‘विज्ञान विषयकाले विज्ञान विषयमा काम गर्न मिल्थ्यो। सेयरमा लगानी गरेर मिलेन नि।’

‘एजुकेसन पढेकाले नयाँ पुस्ता तयार गर्न मिल्थ्यो, सेयरमा लगानी लग्नुभएन’, सुवालले थपे, ‘यसरी आफ्नो विशेषज्ञतामा कामै नगर्ने । सेयर लगानीमा कम्प्युटर र ल्यापटप र मोबाइल हेरिराख्ने । यसले गर्दाखेरी देशमा उत्पादन बढ्दैन, देशको उत्पादकत्व बढ्दैन।’ 

त्यसअघि सांसद सुवालले अर्थमन्त्री महतसमक्ष सेयर बजारका विषयमा प्रश्न राखेका थिए। ‘विश्वविद्यालयबाट विज्ञान, इन्जिनियरिङ, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति विषयमा उच्च डिग्रीसहित विशेषज्ञता हासिल गरेकाहरुसमेत सम्बन्धित क्षेत्रमा काम नगरी वित्तीय संस्थामा उच्च ब्याजदरको कर्जा लिएर सेयर कारोबारमा लागेको हुँदा अहिले सेयरको मूल्य घटेर अधिकांश सेयर कारोबारी डुबेको होइन र ?’, प्रश्न गर्दै उनले भने, ‘सेयर कारोबारसम्बन्धी कानुन खारेज गरेर सरकारले सर्वसाधारण सेयर कारोबारीलाई आत्महत्या गर्न नपर्ने अवस्था तयार गर्नुपर्दैन र ?’ 

यी दुवै प्रश्नको अर्थमन्त्री महतको यस्तो जबाफ (यहाँ क्लिक गर्नुहोस्)