काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र  कारोबारमा कालोधनको प्रवेशलाई रोक्ने प्रयासलाई अगाडि बढाउँदै ग्राहक विवरणमा केही परिमार्जन गरेको छ । 

बोर्डले धितोपत्र कारोबार गर्दा धितोपत्र खरीदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानून विपरीत आर्जन नगरेको उद्घोषण गर्नुपर्ने कडा व्यवस्था कार्यान्वयनमा ल्याउन सबै धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो । 

हाल सम्मधितोपत्र कारोवार गर्दा सीमित रुपमा मात्र ग्राहक विवरण भर्नुपर्ने व्यवस्था रहेकोमा परिमार्जित ग्राहकविवरणमा मुख्यतः ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको बसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भएनभएको विवरण, कम्पनी÷संस्थाको हकमा दर्ता सम्बन्धी विस्तृत विवरण तथा कम्पनी÷संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तीनपुस्ते विवरण जस्ता थप विवरणहरु समेत समावेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

धितोपत्रको कारोवार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी बनाउन र धितोपत्र सम्वन्धी ऐन नियम तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुनहरुको व्यवस्थाहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जाने क्रममा धितोपत्रको कारोवार गर्दा धितोपत्र दलाल व्यवसायीहरुले राख्नु पर्ने ग्राहकको विवरण(केवाइसी)लाई परिमार्जित एवं विस्तृत रुपमा समय सापेक्ष बनाइएको बोर्डको प्रष्टोक्ति छ । 

हालै मात्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले राख्नुपर्ने ग्राहकको विवरण नराखेको सम्वन्धमा केही धितोपत्र दलाल व्यवसायीहरुलाई कारवाही समेत गरिसकेको छ । नयाँ व्यवस्थाले धितोपत्र कारोबारमा कालोधनको प्रयोग बर्जित हुने र अन्य जोखिम समेत न्यूनिकरण हुने बोर्डको दाबी छ।