काठमाण्डौ । अबदेखि पाइलटले आफू सेयरधनी रहेको कम्पनीको हेलिकोप्टर उडाउन नपाउने भएका छन्। 

सोलुखुम्बुमा मंगलबार मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा चालकसहित ६ जनाको ज्यान गएको थियो। सोही दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले कम्पनीमा सेयरधनीका रुपमा रहेका पाइलटलाई हेलिकोप्टर उडाउन रोक लगाउने निर्णय गरेको हो। योसहित प्राधिकरणले ६ वटा निर्णयहरु गरेको छ। 

प्राधिकरणले अबदेखि हेलिकोप्टरले चार्टर उडान गर्दा कम्तीमा एउटा विन्दु विमानस्थल अनिवार्य हुनुपर्ने निर्णय पनि गरेको छ। यसअघि दुवै विन्दुमा विमानस्थल नहुँदा पनि हेलिकोप्टरले उडान गर्दै आएका थिए।

प्राधिकरणले मनसुन अवधिभर (सेप्टेम्बरसम्म) पर्वतीय उडान, सिलिङ उडान र पुष्पवृष्टिजस्ता विशेष प्रकृतिका उडानमा सेप्टेम्बरसम्म रोक लगाएको छ। देशभरका अन्य विमानस्थललाई दिएको हेलिकप्टर चार्टर उडान मनसुन अवधिभरका लागि प्राधिकरणको मुख्यालयमा तानेको छ। 

यसैगरी प्राधिकरणले हेलिकोप्टर उडानको दैनिक गतिविधिलाई नियमित तथा सुपरीवेक्षण गर्न एउटा कमिटी पनि बनाउने निर्णय गरेको छ।