काठमाण्डौ । म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि ७ वटा म्युचुअल फण्ड(सामूहिक लगानी कोष) छन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ । आफूले लगानी गर्ने यस्तो फण्डको बिषयमा सही जानकारी सही समयमा नलिंदा घाटा खानुपर्ने अवस्था समेत आउनसक्छ । हामी आज तपार्इंलाई म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा केही टिप्स दिन गइरहेका छौं । 

फण्डको पछिल्लो प्रस्तुती
कुनै पनि म्युचुअल फण्ड छनौट गर्नुअघि त्यसले विगत २ देखि ३ वर्षको बीचमा गरेको प्रगति वा प्रस्तुती हेर्नुपर्छ । तर, पछिल्लो प्रदर्शन भविष्यको प्रदर्शनको आधार चाहि बन्नसक्दैन । यसबाट तपाईंलाई यो कुराको जानकारी प्राप्त हुन्छ कि यो म्यूचुल फण्डले कस्तो प्रदर्शन गरिरहेको छ । उदाहरणका लागि यदि कुनै म्युचुअल फण्ड विगत ३ वर्षदेखि बजारमा छ र त्यसमा १० हजार बराबरको लगानी गरिएको छ भने आजको मितिमा त्यो १० हजार रुपैयाँको भ्यालु कति पुग्यो भन्ने कुरा हेर्न अनिवार्य हुन्छ । त्यो लगानीमा हरेक साल कति प्रतिशतको रिटर्न प्राप्त भइरहेको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

पोर्टफोलियो
लगानीकर्ता म्युचुअल फण्डमा यसकारण लगानी गर्छ कि यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ । त्यसकारण म्युचुअल फण्डको छनौटअघि सो संस्थाको पोर्टफोलियो हेर्न अनिवार्य हुन्छ । यस्ता म्यूचुअल फण्डको क्रेडिट प्रोफाइल पनि चेक गर्नुहोस् । 

खर्चहरु
म्युचुअल फण्डमा लगानी गर्नुपूर्व खर्च अनुपात अनिवार्य रुपमा चेक गर्नुपर्छ । यदि यस्तो फण्डमा खर्च अनुपात कम हुन्छ भने त्यस्तो कम्पनीमा लगानी गर्नु हितकर हुनेछ । 

ब्राण्ड मात्र नहेर्नुस्
कुनै पनि ठूलो ब्राण्ड म्युचुअल फण्डमा लगानीको मापदण्ड होइन । कुनै पनि म्युचुअल फण्डमा लगानी गर्नुपूर्व त्यसको बिषयमा सकेसम्म रिसर्च र तथ्यहरुको विश्लेषण गर्नुपर्ने हुन्छ । व्यक्तिगत सुझाव, विज्ञापन अथवा ब्राण्ड नामलाई बढी महत्व नदिनुहोस् । लगानीपूर्व फण्डको ट्रयाक रेकर्ड हेर्नुहोस, अनि मात्र लगानीको निर्णय लिनुहोस् ।

रिटर्नको आशा
आम रुपमा म्युचुअल फण्डमा लगानी गरेपछि लगानीकर्ताले २० देखि ३० प्रतिशतसम्मको रिटर्नको आशा गरेको हुन्छ, तर यो आशा अवास्तविक हो । म्युचुअल फण्ड बजारको प्रदर्शनमा निर्भर हुन्छ । त्यसकारण लगानीपूर्व नै धेरै रिटर्नको आशा गर्नु सही हुन्न । यदि लामो समयका लागि डेट फण्डमा लगानी गर्नुहुन्छ भने यसमा ९ प्रतिशत र इक्वीटीमा १६ प्रतिशतसम्मको रिटर्न प्राप्त हुनसक्छ । लगानीपूर्व तपाईं निश्चय गर्नुहोस् कि तपाईं कति प्रतिशतसम्म रिटर्न चाहनुहुन्छ । यदि तपाईं निश्चित रिटर्न चाहनुहुन्छ भने तपाईंका लागि म्युचुअल फण्ड लगानीको उपयुक्त ठाउँ होइन । यहाँ त लगानीपछिको रिटर्न अलग–अलग हुनसक्छ । यसको प्रत्येक लगानीमा अनिश्चितता र जोखिम पनि हुनसक्छ । 

अन्य जानकारी
म्यूचुअल फण्डको पोर्टफोलियो, खर्चको साथमा त्यसको लाभांशको ट्रयाक रेकर्ड समेत हेर्न आवश्यक हुन्छ । फण्डबाट हुने रेगुलर लाभांश जेष्ठ नागरिकहरुका लागि बढी हितकर हुनसक्छ । विज्ञको सुझाव अनुसार लगानीकर्ताले म्युचुअल फण्डमा लगानी गरेपछि प्रत्येक त्रैमासमा चेक गरी फण्डलाई ट्रयाक गर्न आवश्यक हुन्छ । यो कामले आफूले लगानी गरेको कोषले कस्तो काम गरिरहेको छ भन्ने बिषय थाहा पाउन सकिन्छ । 

बढी भन्दा बढी जानकारी जुटाउने
कुनै पनि म्युचुअल फण्डमा लगानीपूर्व त्यो फण्डको बिषयमा धेरै भन्दा धेरै जानकारी जुटाउनुहोस् । यो पनि पत्ता लगाउनुहोस् कि यो फण्डमा जम्मा भएको पैसा कहाँ लगानी हुने गरेको छ । यसका लागि तपाईले स्कीम इन्फरमेसन डकुमेन्ट्स(एसआइडी)बाट सुरु गर्न सक्नुहुन्छ । तर एसआइडीले तपाईलाई मात्र स्कीमको बिषयमा जानकारी दिन्छ । कुनै पनि स्कीममा लगानीका लागि यति मात्र सूचना काफी हुन्न । त्यसकारण फण्डसँग जोडिएका अन्य कयौं तथ्यहरुको बिषयमा समेत जानकार हुन अपरिहार्य हुन्छ ।